
फाइल तस्बिर ।
मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत तुइनखोला पुल नजिकै पुनः सुख्खा पहिरो खस्दा आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ। सडक डिभिजन कार्यालय भरतपुरका अनुसार, सोमबार मध्यान्ह १२ बजेदेखि दुईतर्फी सवारी सञ्चालन बन्द भएको हो।
डिभिजन सडक कार्यालय भरतपुरका सूचना अधिकारी कृष्ण आचार्यका अनुसार पहिरो निरन्तर झरिरहेको छ । पहिरोले सडकको ७० मिटर भाग ढाकेको छ । अहिले दुई वटा मेसिन पहिरो पन्छाउन प्रयोग भइरहेको छ।
गत साता पनि यही ठाउँमा ठूलो पहिरो खसेको थियो। जसलाई हटाउन ४५ घण्टासम्म लागेको थियो। लगातारको वर्षाका कारण पहिरोको जोखिम अझै कायमै रहेको बताइएको छ।
दशैं मनाउन घर फर्कने यात्रुहरू भने ठुलो समस्या झेल्न बाध्य भएका छन्। पश्चिमतर्फ जाने सवारी साधनहरू मुग्लिन सडकअण्डमा लामबद्ध भइरहेका छन्।सडक पूर्ण रूपमा सुचारु हुन कति समय लाग्ने हो भन्ने यकिन नभए पनि यात्रुहरूलाई वैकल्पिक मार्ग वा आवश्यक तयारीसहित यात्रा गर्न ट्राफिक प्रहरीले सुझाव दिएको छ।