
दातृ निकाय र अन्तर्राष्ट्रिय साझेदाहरुले सरकारका नीतिप्रति समर्थन व्यक्त गरेका छन् । अर्थ मन्त्रालयमा भएको बैठकमा दातृ निकायका प्रतिनिधिहरुले समर्थन व्यक्त गरेका हुन् ।
बैठकमा अर्थमन्त्री रामेश्वर प्रसाद खनालले विकास साझेदारहरुले नेपालको आर्थिक तथा सामाजिक विकासमा उल्लेख्य योगदान पुराउँदै आएकोमा धन्यवाद दिँदै वर्तमान सरकारका तत्कालका प्राथमिकताहरुमा प्रकाश पारेका थिए ।
साथै, नेपालमा हाल भएको परिवर्तन पश्चात गठित अन्तरिम सरकार युवाहरुको चाहना अनुरुप पारदर्शिता, जवाफदेहिता, भ्रष्टाचार मुक्त समाज र विधिको शासन स्थापनामा प्रतिबद्ध रहेको बताए। आन्दोलनका कारण सार्वजनिक तथा निजी क्षेत्रमा ठूलो आर्थिक क्षति भएको उल्लेख गर्दै अर्थमन्त्री खनालले अनुपयुक्त खर्च कटौती र मितव्ययी माध्यमबाट पुनर्निर्माण अघि बढाइने र आर्थिक सुधारका कार्यक्रमलाई तीव्रता दिइने उल्लेख गरे।
कार्यक्रममा विकास साझेदारहरुको तर्फबाट संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक, यूएनएचसिआरका प्रतिनिधि, नेपालका लागि जापान, दक्षिण कोरिया, संयुक्त अधिराज्य, स्वीट्जरल्याण्ड, फिनल्याण्ड र अष्ट्रेलियाका राजदूतहरु, भारत र नर्वेका प्रतिनिधिहरु, युरोपियन युनियन, विश्व खाद्य कार्यक्रममा प्रतिनिधि लगायतले आफ्नो भनाई राख्दै नेपालको वर्तमान अवस्थाप्रति जानकार रहेको र वर्तमान सरकारले लिएका नीति तथा कार्यक्रमप्रति सहमति जनाएका छन् ।
विकास साझेदारहरुले चालू रहेका आयोजनाहरुलाई निरन्तरता दिने र थप कार्यक्रम सञ्चालनका लागि नेपाल सरकारसँग सहकार्य गर्न सधैँ तयार रहेको उल्लेख गरेको अर्थमन्त्रालयले जनाएको छ। नयाँ सरकारले अवलम्वन गरेको आर्थिक कार्यदिशा र प्राथमिकताका विषयमा अर्थमन्त्रालयमा विभिन्न देशका नेपालस्थित राजदूतहरु, नेपालस्थित संयुक्त राष्ट्रसंघीय एजेन्सीहरुका प्रमुख तथा प्रतिनिधिहरु, मिशनका प्रतिनिधिहरु र बहुपक्षीय तथा द्धिपक्षीय विकास साझेदारका प्रमुख तथा प्रतिनिधिहरुबीच छलफल भएको थियो।