चितवन, असोज १० :

अविरल वर्षाका कारण अवरुद्ध बनेको मुग्लिन–नारायणगढ सडकखण्ड पूर्ण रूपमा सञ्चालनमा आएको छ। तुइनखोला नजिक खसेको पहिरो पन्छाइएपछि अहिले दुवैतर्फको सवारी आवागमन सुचारु भएको हो।

अवरुद्ध सडक करिब ५४ घण्टापछि बिहीबार रातिदेखि सडक सञ्चालनमा आएको हो। मंगलबार गएको पहिरो बुधबार बिहानदेखि हटाउने कार्य सुरु गरिएको थियो।

भरतपुर सडक डिभिजनले सडक सञ्चालनमा आए पनि सवारी चालकहरूलाई विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ। केही दिनदेखि लगातारको वर्षाले तुइनखोलासहित सडकखण्डका विभिन्न स्थानहरूमा पहिरो खस्दा यात्रुहरूलाई घण्टौँ सडकमा रोकिनुपरेको थियो। सडक खुलेसँगै चितवन, काठमाडौँ, पोखरा लगायत गन्तव्यतर्फ जाने सवारी साधन र यात्रुहरूलाई सहज भएको छ।