
नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका–६ स्थित तुइनखोलामा गएको ठूलो पहिरो ४५ घण्टापछि पूर्णरूपमा हटाइएको छ। पहिरो पन्छाएसँगै सडकमा पुनः सवारी आवागमन सुचारु भएको छ। अहिले एकतर्फी रुपमा खुलेको सडकलाई दुवैतर्फका सञ्चालन गर्ने प्रयास भइरहेको छ।
शुक्रबार साँझदेखि सुरु भएको अविरल वर्षासँगै खसेको पहिरोले उक्त सडक खण्ड पूर्णरूपमा अवरुद्ध बनेको थियो। शनिबारभर पहिरो हटाउने प्रयास भए पनि माथिबाट निरन्तर पहिरो खसिरहेकाले आइतबार बिहान ३ बजेसम्म काम रोक्नु परेको थियो।
सडक डिभिजन कार्यालय, चितवनका अनुसार नारायणगढतर्फबाट ३ वटा स्काभेटर लोडर र मुग्लिङतर्फबाट पनि ३ वटा स्काभेटर लोडर परिचालन गरी निरन्तर प्रयासपछि आइतबार बिहानबाट फेरि काम सुरु भएको हो। कार्यालय प्रमुख नारायणप्रसाद लामिछानेका अनुसार माथिबाट थप पहिरो नखसेपछि सडक खुलाउन सफल भएको हो।
पहिरोका कारण लामो समयसम्म यातायात ठप्प हुँदा यात्रुहरूलाई सास्ती खेप्नुपरेको थियो। अहिले भने पहिरो पूर्ण रूपमा पन्छाइएकाले सडक सञ्चालनमा आएको डिभिजन कार्यालयले जनाएको छ।