धनगढी, भदौ २९ :

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले सो पार्टीबाट आफू अलग भएको घोषणा गरेका छन्। सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गर्दै उनले व्यक्तिगत अहंकार र स्वेच्छाचारी प्रवृत्तिलाई नियन्त्रण गर्न नसकेको आरोप लगाउँदै पार्टी परित्याग गरेको जनाएका हुन्।

‘मैले पार्टीको गीत, विधान लेखेँ, विचार स्थापना गरेँ,’ चौधरीले भने, ‘तर व्यक्तिगत अहंकार र स्वेच्छालाई जित्न सकिएन।’

पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ र नेता दामोदर पण्डितसँग कुनै व्यक्तिगत दुश्मनी नरहेको प्रस्ट पार्दै उनले पार्टीभित्र रहेका केही व्यक्तिहरूको फटाह प्रवृत्तिले आफूलाई गम्भीर रूपले अल्मलाएको उल्लेख गरेका छन्।

नागरिक उन्मुक्ति पार्टीभित्र पछिल्लो समय देखिएको आन्तरिक कलहप्रति असन्तुष्टि जनाउँदै चौधरीले भने, ‘म जेलमा हुँदा दुई घण्टा भए पनि निदाउन सक्थेँ, तर बाहिर आएपछि अनगिन्ती रातहरू अनिदो बिते।’

राजनीतिक व्यक्तित्व भएकाले पार्टी बिना बस्न नसुहाउने भन्दै उनले नयाँ राजनीतिक दल र संगठन निर्माणको तयारीमा लागेको जानकारी दिएका छन्। उनले गठन गर्न लागेको दलको नाम ‘नागरिक उन्मुक्ति पार्टी नेपाल’ हुने र चुनाव चिन्ह भने पहिचानकै रहने उल्लेख गरेका छन्।