मुस्ताङ, भदौ १६ :

दशैंलाई लक्षित गरी यसवर्ष मुस्ताङबाट १२ हजारभन्दा बढी भेडाच्याङ्ग्रा निकासी हुने भएको छ । चाडपर्वको चहलपहलसँगै कोरला नाका हुँदै तिब्बतबाट भित्रिने बाहेक मुस्ताङमै उत्पादन भएको साढे ११ हजार च्याङ्ग्रा र करिब ६ सयको हाराहारीमा भेडा बिक्री हुने अनुमान गरिएको हो ।

उपल्लो मुस्ताङको लो–घेकर दामोदरकुण्ड, लोमान्थाङ गाउँपालिका र तल्लो मुस्ताङमा पर्ने वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाबाट सबैभन्दा धेरै निकासी हुने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइका कार्यालय प्रमुख भरतराज गौतमले बताए ।

यस क्षेत्रमा १९ हजार च्याङ्ग्रा रहेकोमा पशुपालक कृषकले चाडपर्वका लागि बिक्री गर्ने च्याङ्ग्रा तयारी अवस्थामा राखिएको छ । एकाइ प्रमुख गौतमका अनुसार जिल्लाभर एक सय कृषक सूचिकृत कृषकको गोठमा ५६ हजार च्याङ्ग्रा रहेकोमा मासुजन्य प्रयोजनका लागि सूचीकृत कृषकबाट ११ हजारको हाराहारीमा च्याङ्ग्रा बाहिरनेछ । एकाइ प्रमुख गौतम भन्छन्, ‘चरनक्षेत्र र गोठालाको अभावले कृषकलाई समस्या भएको छ, नश्ल सुधार तथा व्यवस्थापन गर्दै मासुको उत्पादनलाई प्रोत्साहन गरेका छौँ ।’

तल्लो मुस्ताङको घरपझोङ गाउँपालिका र थासाङ गाउँपालिकाको चरन क्षेत्रबाट सूचीकृत नभएका कृषकहरूले समेत भेडाच्याङ्ग्रा निकासी गर्ने गरेका छन् । कृषकको गोठमै एउटा च्याङ्ग्रा बिक्री योग्य बनाउन प्रतिकेजी ११ सय ९२ रुपियाँ खर्च हुने गरेको एकाइ प्रमुख गौतमको भनाइ छ । 

लो–घेकर दामोदरकुण्ड, लोमान्थाङ र बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा खर्कमा घाँस, गोठालोको अभावका कारण माग अनुसार भेडाच्याङ्ग्रा उत्पादन हुन सकेको छैन भेटेरेनरी अस्पताल तथा पशु विज्ञ केन्द्र मुस्ताङका प्रमुख डा.लालमणि अर्यालका अनुसार मुस्ताङमा पाँच हजार पाँच सय सङ्ख्यामा रहेको भेडामध्ये दशैँ लक्षित ६ सय बिक्रीका लागि तयारी अवस्थामा छ ।तीजलगत्तै वयापारीहरू मुस्ताङका भेडाच्याङ्ग्राको गोठमा पुग्न थालेका छन् ।