काठमाडौं, भदौ १४ :

काठमाडौँमा आन्दोलनरत उखु किसानहरूले भदौ २५ गतेदेखि सर्लाहीको हरिवनमा अनिश्चितकालीन राष्ट्रिय राजमार्ग अवरुद्ध गर्ने घोषणा गरेका छन्। शनिबार माइतीघरमा पत्रकार सम्मेलन आयोजना गरी उनीहरूले आन्दोलनको नयाँ कार्यक्रमको घोषणा गरेका हुन् ।

सरकारबाट दिनुपर्ने बाँकी अनुदान रकम नपाएको र उखुको मूल्य निर्धारणमा किसानको सहभागिता सुनिश्चित नगरेको भन्दै किसानहरूले यो निर्णय गरेका हुन्।

माइतीघरमा आन्दोलनरत किसानसँग सरकारले तीनपटक वार्ता गरिसकेको छ। तर वार्ताले समाधान निकाल्न सकेको छैन। आन्दोलनका संयोजक श्यामबाबु रायले भने, ‘हामीले चिनी उत्पादन गरेर कर तिरेका छौँ, अनुदान चन्दा माग्न आएको हैनौं।’ सरकारले आफूहरुको मागप्रति चासो नदिएको उनीहरुको गुनासो रहेको छ ।

उनीहरूले उखुको मूल्य तोक्दा उखु किसानको सहभागिता सुनिश्चित गर्न पनि माग गरेका छन् ।१३ जिल्ला उखु किसानहरूले भाद्र ८ गतेबाट काठमाडौँको माइतीघरमा धर्ना एवं विरोध प्रदर्शन गर्दै आएका छन् ।