शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार सुदूरपश्चिम प्रदेश

गौरापर्वको तेस्रो दिन आज गौरादेवीलाई घरघरमा भित्र्याइँदै

· शनिबार, १४ भदौ, २०८२ मा प्रकाशित
गौरापर्वको तेस्रो दिन आज गौरादेवीलाई घरघरमा भित्र्याइँदै
बैतडी, भदौ १४ :

सुदूरपश्चिमेलीको मुख्य पर्व गौरा अन्तर्गत आज तेस्रो दिन बर्तालु महिलाहरूले गौरादेवीलाई गौराघरमा भित्र्याउँदै छन् ।

स्थानीय भाषामा भितरीकी गौरा अर्थात् ‘ठूली गौरा’ भनिने आजको दिनलाई बर्तालु महिलाहरूले विशेष दिनको रूपमा लिने गरेका छन् ।

बर्तालु महिलाहरूले बिहानै नुहाइधुवाइ गरेर साँझको समयमा गौरालाई गौरा घरमा भित्र्याउने चलन रही आएको स्थानीय संस्कृतिका जानकार आचार्य विष्णुदत्त भट्टले बताए । आज अमुक्ताभरण सप्तमी भएकाले बर्तालु महिलाहरू एक ठाउँमा जम्मा भएर फाग गाएर गौरा देवीको पूजा गर्ने चलन रही आएको उनले बताए।

‘ठूली गौरा’ को दिन आज गौरा र महेश्वरको प्रतिमूर्ति स्थापना गरेर बर्तालु महिलाहरूले फलफूल र बिरुडाले गौरादेवीको पूजा पनि गर्ने गर्दछन् । बर्तालु महिलाहरूले धारण गर्ने विशेष प्रकारको धागोअर्थात् दुबधागो पनि आजै गौरादेवीमा चढाउने चलन छ ।

साउ, अपामार्ग, तीललगायत वनस्पतिले गौराको प्रतिमूति बनाइ पूजाआजा गर्ने चलन रही आएको छ । खेतबारीबाट साउ, अपामार्गलगायतका वनस्पतिको प्रतिमूर्ति बनाइ आज गौराघरमा गौरा भित्र्याइन्छ । तागाधारी पुरुषहरूले जनै धारण गरेजस्तै महिलाहरूले गौराको समयमा दुबधागो धारण गर्ने परम्परा रही आएको पण्डित जयानन्द भट्टले बताए ।

यसका साथै साँझको समयमा बर्तालु महिलाहरूले कुण्ड स्नान गर्ने चलन रही आएको छ । आज गौरादेवीमा चढाएको दुबधागोलाई भोलि दुर्वाष्टमीअर्थात् अठ्यावालीका दिन बर्तालु महिलाहरूले धारण गर्ने गर्दछन् । नयाँ दुबधागोहरू आज गौरादेवीमा समर्पण गर्ने र उक्त दुबधागो भोलि अठ्यावाली सकिएपछि धारण गर्ने परम्परा रही आएको छ ।

गौरापर्वको मुख्य दिनका रूपमा रहेको सप्तमीको दिनमा गौरा र महेश्वरको पूजागरी बर्तालु महिलाहरूले राति मिठोमसिनो खाना खाने चलन छ । मौलिक पर्वका रूपमा समेत रहेको गौराको मुख्य दिन भोलि गौराष्टमीअर्थात् अठ्यावालीका दिन महिलाहरूले गौरालाई गौराघरबाट गौराखलामा लगेर पूजा गर्ने चलन रही आएको छ ।

गौराको समयमा विभिन्न ऐतिहासिक ठाडो खेल, ढुस्को, धमारी, चैत खेल्ने चलन रही आएको छ । सुदूरपश्चिममा दशैँभन्दा पनि बढी महत्त्व दिइने गौरा पर्वका लागि परदेशिएकाहरू पनि घर फर्किने गर्दछन् ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार