काठमाडौं, भदौ १२ :

निजी विद्यालय सञ्चालकहरुले आफ्ना माग पूरा नभए भदौ १८ गतेदेखि अनिश्चितकालीन विद्यालय बन्द गर्ने सरकारलाई चेतावनी दिएका छन् ।

विद्यालय शिक्षा विधेयक सच्याउन माग राख्दै आन्दोलनरत निजी विद्यालयहरुको छाता संगठन प्याब्सन, एनप्याब्सन, हिसान र अपेनले बिहीबार संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै भदौ १८ देखि विद्यालय बन्द गर्ने चेतावनी दिएका हुन् ।

निजी विद्यालय सञ्चालकहरुले निजी विद्यालयल गैरनाफा मूलक र पूर्ण छात्रवृत्ति विधेयकबाट हटाउनुपर्ने माग राखेर आन्दोलन गरिरहेका छन् ।

विद्यालय सञ्चालकहरुले भदौ १२ गते बृहत् खबरदारी सभा गर्ने, भदौ १४ र १५ गतेको आगामी कार्यक्रमका लागि तयारी बैठक गर्ने र भदौ १६ गते देशैभरिका स्कुलबसमा कालो झन्डा र ब्यानरसहित परिक्रममा गर्ने घोषणा गरेका छन् ।

त्यस्तै १७ गतेसम्म सरकारले आफूहरुको माग सम्बोधन नगरे भदौ १८ गतेदेखि विद्यालय बन्द गर्ने उनीहरुको चेतावनी छ ।

संसद्‌को शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले भदौ ५ गते विद्यालय शिक्षा विधेयक पास गरी संसदमा दर्ता गरेको छ । जसमा निजी लगानीका विद्यालयहरूले शिक्षण शुल्क, परीक्षा शुल्क, पाठ्यपुस्तक शुल्क, शिक्षा सामग्री, पोसाक, यातायातलगायत विद्यालयले दिने शुल्कमा पूर्ण छात्रवृत्ति दिनुपर्ने व्यवस्था गरेको छ ।