
हरितालिका तीजको अवसरमा पशुपति क्षेत्रमा भक्तजनको बढ्दो भीडलाई मध्यनजर गर्दै पशुपति क्षेत्र विकास कोषले विशेष ट्राफिक तथा पार्किङ व्यवस्थापन गर्ने भएको छ।
आइतबार आयोजित पत्रकार सम्मेलनमार्फत कोषले मेला अवधिभर पशुपति क्षेत्रलाई पूर्ण रूपमा सवारी निषेधित क्षेत्र घोषणा गरिएको जानकारी दिएको छ। कोषका अनुसार दमकल, एम्बुलेन्स र शव वाहनबाहेक अन्य कुनै पनि सवारीसाधनलाई प्रवेश अनुमति दिइने छैन।
उमाकुण्ड, दक्षिणामूर्ति, महास्नानघर पश्चिम, भुवनेश्वरी–गौशाला हुँदै वनकाली क्षेत्रसम्मको दर्शन मार्गमा साधारण सवारी प्रवेश निषेध गरिएको छ।
यस्तो छ पार्किङ व्यवस्था :
तिलगङ्गा आँखा अस्पताल क्षेत्र – भक्तजनका सवारी साधनका लागि
सिफल चौर – भक्तजनका सवारी साधनका लागि
गुह्येश्वरी पारीको खाली स्थान – भक्तजनका सवारी साधनका लागि
पशुपति क्षेत्र विकास कोष कार्यालय परिसर तथा अमालकोट कचहरी परिसर – कोषका आफ्ना सवारी र पर्वसँग सम्बन्धित निकायका सवारीका लागि
भण्डारखाल पूर्व पार्किङ क्षेत्र – सरकारी संस्थान र विशिष्ट व्यक्तिका सवारीका लागि
कोषले भक्तजनलाई सम्भव भएसम्म सार्वजनिक यातायात प्रयोग गर्न र ट्राफिक नियमको पालना गर्न अनुरोध गरेको छ।