
फाइल तस्बिर ।
सरकारले उखु किसानलाई दिँदै आएको अनुदान रकम कटौती गरेपछि देशभरका उखु किसानहरू काठमाडौंमा भेला भएर प्रदर्शन गरेका छन् ।
नेपाल उखु उत्पादक महासंघ, लुम्बिनी प्रदेश समितिका संयोजक उमेशचन्द्र यादवले आफ्ना माग सम्बोधन नभएसम्म आजदेखि काठमाडौंको माइतीघर मण्डलामा धर्नासहित विरोध कार्यक्रम जारी रहने बताए। अनुदान निरन्तरताको माग गर्दै १३ जिल्लाका अगुवा किसानहरू माइतीघर मण्डलामा भेला भई धर्नामा बसेका छन् ।
आफ्ना माग सम्बोधन नभएसम्म काठमाडौँको माइतीघर मण्डलामा धर्ना र विरोध कार्यक्रम जारी राख्ने किसानहरूले चेतावनी दिएका छन् । उनीहरूले सरकारले तत्काल आफ्नो माग सुनुवाइ गरी बक्यौता रकम भुक्तानी गर्न र अनुदानको निरन्तरता सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन् ।
चालु आर्थिक वर्ष २०८२/८३ को बजेटमा सरकारले उखुको अनुदानका लागि कुनै रकम विनियोजन नगरेकोमा किसानहरूले गम्भीर असन्तुष्टि जनाएका छन् । नेपाल उखु उत्पादक महासंघका अनुसार देशभरका किसानहरूको करिब एक अर्ब ६० करोड रुपियाँ अनुदान रकम सरकारले भुक्तानी गर्न बाँकी छ । यसअघि सरकारले प्रतिक्विन्टल ७० रुपियाँ अनुदान दिने निर्णय गरेको भए पनि उक्त रकमसमेत किसानले पाउन सकेका छैनन् ।
गत वर्ष उखुको प्रतिक्विन्टल मूल्य ६५५ रुपियाँ तोकिएको थियो । यसमध्ये चिनी उद्योगले ५८५ रुपियाँ र सरकारले ७० रुपियाँ अनुदान दिने व्यवस्था थियो । तर बजेट अभाव देखाउँदै सरकारले अनुदान रकम आधा घटाएर प्रतिक्विन्टल ३५ रुपियाँमा झारेको छ । किसानहरूले यो रकम अस्वीकार गर्दै पुरानै ७० रुपियाँ कायम गर्न माग गरेका छन् ।
नेपाल उखु उत्पादक महासंघ, लुम्बिनी प्रदेश समितिका संयोजक उमेशचन्द्र यादवले अनुदान रकम कटौतीले उखु उत्पादनमा कमी आउने चिन्ता बढाएको बताए । उनका अनुसार अनुदान रकम पाउन थालेपछि उत्साहित भएर उखु खेती विस्तार गरेका किसानहरू पछिल्लो समय रकम कटौती भएपछि पलायन हुने अवस्थामा पुगेका छन् ।