
राप्रपामा जारी आन्तरिक विवादबीच असन्तुष्ट नेताहरूले पार्टीका तीन पूर्वअध्यक्षहरुलाई भेटेर नेतृत्व र महाधिवेशनका विषयमा गम्भीर ध्यानाकर्षण गराएका छन् ।
डा. धवलशमशेर राणा, विक्रम पाण्डे, मुकुन्दश्याम गिरी, कुन्ति शाही र सगुन सुन्दर लावतीलगायत असन्तुष्ट समूहका नेताहरूले शनिबार पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीसँग भेट गरी अध्यक्ष राजेन्द्र लिङ्देनको एकलवादी शैली, विधानविपरीतका निर्णयहरू र निष्कासनसम्बन्धी कारबाहीको विषयमा कुरा राखे ।
यसअघि उनीहरूले बिहीबार पूर्वअध्यक्ष पशुपतिशमशेर राणा र शुक्रबार संस्थापक अध्यक्ष लोकेन्द्रबहादुर चन्दसँग पनि भेट गरेका थिए । पूर्वअध्यक्षहरूलाई अभिभावकीय भूमिका निर्वाह गर्न पनि उनीहरूले आग्रह गरेका छन् ।
नेता सगुनसुन्दर लावतीका अनुसार तीनैजना पूर्वअध्यक्षहरूसँगको भेटमा सकारात्मक आश्वासन प्राप्त भएको छ । असन्तुष्ट नेताहरूले पार्टीमा देखिएका समस्याहरूको समाधान विधानअनुसार गर्न र महाधिवेशन अविलम्ब तोक्नुपर्नेमा जोड दिएका छन् ।
उनीहरूले पार्टीभित्र निष्पक्ष र विश्वसनीय वातावरण सिर्जना गरी समयमै महाधिवेशन सम्पन्न गर्न माग गरेका छन् । साथै विधान मिच्दै गरिएका सबै कारबाही र निष्कासनहरू फिर्ता लिन पनि आग्रह गरेका छन् ।
असन्तुष्ट समूहले अध्यक्ष लिङ्देनलाई लिखित ध्यानाकर्षण पत्र बुझाउँदै विधानको शृंखलाबद्ध उल्लंघन, आन्तरिक गुटको पक्षपोषण र स्वेच्छाचारी निर्णयका कारण पार्टीमा संकट सिर्जना भएको आरोप लगाएका थिए ।