धनगढी, भदौ ७ :

नेकपा एमालेका सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले नेपाली भूमि लिपुलेकबारे भारत र चीनबीच भएको दुई देशीय सम्झौताप्रति आपत्ति जनाएका छन् ।

प्रेस चौतारी नेपाल कैलालीले शनिबार धनगढीमा आयोजना गरेको ‘जनसंगठनसँग प्रेस चौतारी’ विषयक अन्तर्क्रियामा पूर्वउद्योगमन्त्रीसमेत रहेका भट्टले दुई शक्ति राष्ट्रले शान्तिप्रिय मुलुकको भूमिबारे गरेको दुई पक्षीय सम्झौता नेपालको राष्ट्रियता र सार्वभौमसत्तामाथिको नाङ्गो हस्तक्षेप भएको उल्लेख गरेका हुन् ।

उनले लिपुलेक नेपालको भूमि भएको कुरा विभिन्न तथ्य प्रमाणले प्रस्ट हुने बताउँदै शक्ति राष्ट्रले त्यसबारे सम्झौता गरेर नेपालको राष्ट्रियतामाथि ठुलो मिसाइल प्रहार गरेको बताए ।

‘लिपुलेक नेपालकै भूमि हो भन्ने कुरा विभिन्न तथ्य, प्रमाणले पुष्टि गर्छ । अझ हामी सुदूरपश्चिमबासीको भूमि भएकाले यो कुरामा हामी सबै प्रस्ट हुनुपर्छ,’ उनले भने, ‘तर लिपुलेकबारे अहिले भारत र चीनले दुई पक्षीय सम्झौता गरेर शान्तिप्रिय राष्ट्रको राष्ट्रियतामाथि हस्तक्षेप र गम्भीर प्रहार गरेका छन् । यसको हामी सबैले खुलेर विरोध गर्नुपर्छ ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले कुरा समेत गर्ने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली शाङ्घाइ सहयोग संगठन (एससीओ) को सम्मेलनमा भाग लिन भदौ १४मा चीन जाँदैछन् । चीनबाट फर्किएपछि प्रधानमन्त्री भारत भ्रमणमा जाने कार्यक्रम छ ।

भ्रमणका क्रममा दुवै देशसँग प्रधानमन्त्री ओलीले कुरा गर्ने उनको भनाई थियो । दुई देशबीच ३ भदौमा नयाँ दिल्लीमा चीनका विदेशमन्त्री वाङ यी र भारतीय विदेशमन्त्री एस.जयशंकरबीच भएको वार्तामा नेपाली भूमि लिपुलेकसम्बन्धी सम्झौता भएको थियो ।