काठमाडौं, भदौ ६ :

भारत सरकारले नेपालबाट थप ८० मेगावाट बिजुली खरिद गर्न स्वीकृति दिएको छ । ४८.५ मेगावाटको मेवा खोला र ३१.०४ मेगावाटको करुवा सेती जलविद्युत् आयोजनाको बिजुली निर्यात गर्न भारतले स्वीकृत दिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको हो ।

प्राधिकरणका अनुसार यसअघि अनुमति प्राप्त ८१०.९ मेगावाट र गत साउन २६ मा थप २०० मेगावाट विद्युत् निर्यातको सहमति दिएको थियो । यसअघि अनुमति प्राप्त ८१०.९ मेगावाट र थप २०० मेगावाट गरी कुल भारत निर्यात क्षमता १०१०.९ मेगावाट पुगेको थियो ।

भारतले अझ थप ८० मेगावाट विद्युत् निर्यात गर्न अनुमति दिएसँगै नेपालले १०९०.९ मेगावाट विद्युत् निर्यात गर्ने भएको छ ।

बर्खामा नेपालले बिजुली बिक्री गर्दै आएको छ भने सुक्खायाममा भारतसँगै किन्दै आएको छ । भारतसँगै नेपालले बंगलादेशलाई समेत ४० मेगावाट बिजुली निर्यात गर्दै आएको छ ।

बंगलादेश निर्यातको ४० मेगावाटसहित नेपालको कुल निर्यात स्वीकृति ११३०.९ मेगावाट पुगेको प्राधिकरणले जनाएको छ  । नेपाल र भारतबीचको द्विपक्षीय सम्झौताअन्तर्गत मध्यम अवधिका लागि बिजुली निर्यात गर्न पाउने भएको छ । आगामी ३१ अक्टोबर २०२६ सम्मको बिजुली निर्यात गर्न पाइने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

गत साउनमा मात्रै भारतले नेपालका विभिन्न पाँच जलविद्युत् आयोजनाबाट उत्पादन भएको थप २०० मेगावाट विद्युत् खरिदका लागि सहमति प्रदान गरेको थियो ।

पछिल्लोपटक साउन २६ गते भारत सरकारबाट प्राप्त स्वीकृति ११ अगस्त २०२५ देखि ३१ अक्टोबरसम्मका लागि रहेको छ । यसअन्तर्गत लिखु २, लिखु खोला ए, लोअर सोलु, ठुलो खोला, सुपर काबेली खोला ए र सुपर काबेली खोलाबाट उत्पादन भएको विद्युत् निर्यात हुनेछ । आव ०८१/८२ मा नेपालबाट १७ अर्ब ४७ करोड रुपैयाँ बराबरको विद्युत् निर्यात भएको छ ।