
नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आफ्ना विवाहित महिला सदस्यहरुका लागि एचपीभी डीएनए परीक्षण गरेको छ । नाफिजले २५ वर्षभन्दा माथिका विवाहित महिला सदस्यहरुको पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी डीएनए परीक्षण गरेको हो ।
नाफिजले गत साउन २३ गतेदेखि साउन ३० गतेसम्म मेरी स्टोप्स सेन्टर पुतलीसडकमा यसको जाँच गराएको महासचिव निकेश खत्रीले जानकारी दिए । विशेषगरी विवाहित महिलाहरुमा उच्च जोखिम रहने हुँदा पाठेघरको क्यान्सरसँग सम्बन्धित परीक्षण गराइएको हो । महासचिव खत्रीका अनुसार उक्त एचपीभी डीएनए परीक्षणमा नाफिजका २६ महिला सहभागी भए ।
पाठेघरको मुखको क्यान्सरबाट विश्वमा हरेक वर्ष लाखौं महिला प्रभावित हुने गरेका छन् । नेपालमा पनि यो स्वास्थ्य समस्याको जोखिम बर्सेनि बढ्दै गइरहेको छ । नाफिजले यही तथ्यलाई मध्यनजर गर्दै आफ्ना सदस्यको परीक्षण गरेको नाफिज अध्यक्ष मेनुका कार्कीले जनाइन् ।
परीक्षणबाट महिला सदस्य लाभान्वित बनेको उनको भनाइ छ । ‘नाफिजमा आबद्ध सदस्यहरुको स्वास्थ्य अवस्थालाई ख्यालमा राख्दै परीक्षण कार्यक्रम सम्पन्न गरिएको हो,’ अध्यक्ष कार्कीले भनिन्, ‘यो परीक्षणले समयमै रोगको पहिचान गर्न र उपचार गर्न सदस्यहरुलाई सघाउनेछ ।’