
फाइल तस्विर ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीति पेसा नभएको भन्दै हरेक राजनीतिज्ञले पेसा वा व्यवसाय गर्नुपर्ने बताएका छन्।
काठमाडौंमा आयोजित राप्रपाको महिला संगठनको कार्यक्रममा बोल्दै लिङ्देनले आफू सुकुम्बासी र निम्न वर्गीय परिवारको पृष्ठभूमिबाट आएको हुँदा कतिपयले आफूलाई अध्यक्ष मान्न अस्वीकार गरेको उल्लेख गरे। ‘पहाडबाट मधेस झरेको, झापाको सुकुम्बासीको छोरा भनेर केहीले हेपेर व्यवहार गर्छन्,’ उनले भने।
राजनीतिमा प्रवेश गरेपछि कुनै बेइमानी नगरेको दाबी गर्दै उनले भने, ‘खाने गाँस, लगाउने कपडामा बेइमानीको अंश छैन।’
देशका युवाले ५० हजार तलबका लागि विदेश जानु नपर्ने अवस्था बनाउनु पर्नेमा उनले जोड दिए। जलस्रोतको उपयोग गरी उद्योगधन्दा विकास गरेर देशमै रोजगारी सिर्जना गर्नुपर्ने उनले बताए। नेपाललाई संसारकै राम्रो देश बनाउने अभियानमा राप्रपा लागेको उल्लेख गर्दै उनले महिला संगठनको सशक्त उपस्थितिबिना त्यो सम्भव नहुने बताए।
झापाको जिल्ला विकास समिति सभापति हुँदा पनि आफूले माइक्रोबस चलाएको स्मरण गर्दै उनले कुनै पनि काम गर्न लाज मान्न नहुने धारणा व्यक्त गरे।