काठमाडौं, साउन २६ :

नेपाली कांग्रेसले आफ्ना भ्रातृ तथा शुभेच्छुक संस्थाहरूको अधिवेशन प्रक्रिया व्यवस्थापन गर्न तयार पारेको निर्देशिका पारित गरेको छ। 

पार्टीको केन्द्रीय कार्यालय सानेपामा सोमबार  बसेको पदाधिकारी र निर्देशन समितिको संयुक्त बैठकले सो निर्देशिकालाई अनुमोदन गरेको हो।

पार्टी प्रचार विभागका प्रमुख मीन विश्वकर्माका अनुसार निर्देशिकालाई अन्तिम रूप दिनुअघि सबै भ्रातृ संस्थाका अध्यक्षहरूसँग तथा सम्बन्धित निर्देशन समितिसँग विस्तृत छलफल गरिएको थियो।

‘निर्देशन समितिले आफ्ना काम, कर्तव्य र अधिकारलाई स्पष्ट गर्दै तयार गरिएको यो निर्देशिका अब सबै भ्रातृ संस्थाहरूमा लागु हुनेछ,’ विश्वकर्माले जानकारी दिए।

उनका अनुसार सुझाव संकलनपश्चात निर्देशिका परिमार्जन गरी पारित गरिएको हो। यो निर्देशिका भ्रातृ संस्थाहरूको संगठनात्मक सुदृढीकरण र पारदर्शिता कायम गर्न महत्वपूर्ण आधार बन्ने अपेक्षा गरिएको छ।