
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सामाजिक परिवर्तनका लागि सबैले हातेमालो गर्दै अघि बढ्नुपर्ने बताएका छन् ।
काठमाडौंमा शुक्रबार आयोजित एक कार्यक्रममा उनले संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक समावेशी सिद्धान्तअनुरुप उपलब्धिहरु नयाँ संविधानमार्फत प्राप्त भएको बताए । उनले संविधानको प्रस्तावनामै अनेक प्रकारका विभेद, उत्पीडनको अन्त्य गरी आर्थिक समानता, समृद्धि, सामाजिक न्याय राखेर अहिले त्यसको कार्यान्वयन भइरहेको बताए ।
आदिवासी जनजातिको आत्मसम्मानका लागि नेपाली कांग्रेस संवेदनशील रहेको पनि सभापति देउवाको भनाइ छ । ‘आदिवासी जनजातिको आत्मसम्मानका लागि नेपाली कांग्रेस संवेदनशील छ । शिक्षा, स्वास्थ्य, रोजगारी, समावेशिता, सहभागिताजस्ता क्षेत्रमा समान पहुँचको सुनिश्चितता गर्ने समय सान्दर्भिक पहल गर्नुपर्छ,’ उनले भने, ‘अब सामाजिक परिवर्तनको क्षेत्रमा हामी सबैले हातेमालो गर्दै अघि बढे निश्चय पनि सही गन्तव्यमा पुग्न सकिन्छ ।’
सभापति देउवाले आदिवासी, जनजातिको परम्परा र वेशभूषालाई संरक्षण र संवर्धन गर्दै आइरहेको पनि बताए ।