
सहकारीका पीडित बचतकर्ताहरूले गृहमन्त्री रमेश लेखकलाई भेटेर सहकारीको रकम अपचलन गरेर फरार रहेका गीतेन्द्रबहादुर राई(जीबी) राईलाई तत्काल पक्राउ गर्न माग गरेका छन् ।
बचत रकम हिनामिना गरी फरार भएका जीबी राईलाई पक्राउ गरी कानुनी कारबाही गर्न र पीडित बचतकर्ताहरूले पैसा फिर्ता पाउने वातावरण बनाइनुपर्नेमा जोडदिए। उनीहरुको कुरा सुनेपछि गृहमन्त्रीले फरार रहेकालाई पक्राउ गर्ने काम प्रक्रियामै रहेको भन्दै सहकारी मन्त्रीलाई फोन गरेर बचत फिर्ता हुने वातावरण तत्काल मिलाउन पनि अनुरोध गरे ।
साहारा चितवन बहुउद्देश्यीय सहकारीका पीडित बचतकर्ताहरूले गठन गरेको संघर्ष समितिका संयोजक शालिकराम दुवाडी नेतृत्वको पीडित बचतकर्ताहरूले सोमबार नै महान्यायाधिवक्तालाई पनि भेटेका छन्।उनीहरुले प्रधानमन्त्री कार्यालयमा पनि निवेदन दर्ता गराएका छन्।
जीबी राई संस्थापक तथा सञ्चालक रहेको भरतपुरस्थित साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थासहित पाँच सहकारीका बचतकर्ताहरूले आइतबार पनि काठमाडौंमा सहकारीसम्बन्धी विभिन्न निकायका पदाधिकारीहरूलाई भेटेर आफ्नो माग राखेका थिए।
साहारा सहकारीमा जीबी राईसहित ३८ जनालाई प्रतिवादी बनाए पनि हालसम्म दुईजना मात्रै पक्राउ परेका छन् भने जीबीसहित अन्य फरार रहेका हुँदा सबैलाई पक्राउ गर्न उनीहरूले माग गरेका हुन्। विदेशमा रहेका राईविरुद्ध इन्टरपोलमार्फत रेडकर्नर नोटिस जारी भएको लामो समय भए पनि उनी पक्राउ पर्न सकेका छैनन् ।