
अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष जगत सिम्खडाले श्रमिकका अधिकारहरु कटौती हुँदै गएकामा चिन्ता जनाएका छन् ।
काठमाडौंमा ट्रेड युनियन महासंघहरुले आयोजना गरेको जलवायु परिवर्तनले देशमा पारेको असरबारे सामाजिक संवाद कार्यक्रममा उनले अहिलेको श्रम क्षेत्रमा जुरेको पहिरो आएको टिप्पणी गरेका हुन् । श्रमिकका अधिकारहरु बढारेर लगिएको उनको जिकिर छ ।
उनले श्रमिकले आफ्ना अधिकारहरु देख्न र भोग्न नपाउनेजस्तो स्थिति बनेको बताए । श्रमिकहरुले अहिले धेरै दुःख र पीडा महसुस गरिरहेको उनको भनाइ छ ।
‘सामाजिक संवादको विषय न्यायिक रुपान्तरणको सवालमा अहिले नेपालको सन्दर्भमा एउटा ठुलै उथलपुथल भयो भने त्यो सामाजिक संवाद, ऐन, कानून संविधानले दिएको अधिकार हामीले पाउने र रक्षा हुने स्थिति होला । तर आजको दिनमा एकदम पीडा र दुःखको अवस्थामा भएका अधिकार कटौती हुँदै जाने स्थिति सिर्जना भएको छ,’ उनले भने ।
कार्यक्रममा बोल्दै ट्रेड युनियन कांग्रेसका अध्यक्ष योगेन्द्र कुँवरले जलवायु परिवर्तनको असर नेपालमा पछिल्लो समय अत्याधिक बढिरहेको बताए । यसले श्रमिकलाई सबैभन्दा बढी समस्यामा पारेको उनको भनाइ छ । वातावरणीय प्रकोपबाट सबैभन्दा ठुलो असर श्रमिक वर्गमा परेको र उनीहरु रोजगारीबाट विमुख भइरहेको बताए ।
‘वातावरणीय प्रभाव पछिल्लो समय अत्याधिक मात्रामा देखिन थालेको छ । वातावरणीय प्रकोपबाट सबैभन्दा ठुलो असर श्रमिक वर्गमा परिरहेको छ,’ उनले भने, ‘उनीहरु रोजगारीबाट विमुख भइरहेका छन् । उनीहरुले क्षतिपूर्ति पाउने स्थिति बनिरहेको छैन । फन्डहरुसँग लक्षित वर्गमा जोड्न सकेका छैनौँ ।’
कार्यक्रममा अन्य वक्ताहरुले पर्यटन र कृषि क्षेत्र समस्यामा परेको बताए । कृषि र पर्यटन क्षेत्रले नेपालको रोजगारीमा धेरै योगदान गरिरहेको उनीहरुको भनाइ छ । जलवायु परिवर्तनले श्रमिक, उद्यमशीलता, देशको अर्थतन्त्रमा ठुलो समस्या पारेको बताए ।