पर्सा, साउन १२ :

वीरगन्ज नाका हुँदै गत आर्थिक वर्षमा १२ अर्ब ७२ करोड रुपैयाँबराबरको ३१ करोड ३८ लाख ६५ हजार ४७३ किलो धान आयात भएको छ ।

अघिल्लो आव ०८०/८१ को तुलनामा गत आवमा मात्रै मूल्यको आधारमा ५३ प्रतिशत बढी धान आयात भएको हो । वीरगन्ज भन्सार कार्यालयका अनुसार अघिल्लो आवमा आठ अर्ब २९ करोड रुपैयाँबराबरको २० करोड ८० लाख ९२ हजार ४४८ किलो धान आयात भएको थियो ।

कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले गत आवमा अघिल्लो आवको तुलनामा धान र चामल दुवैको आयातमा वृद्धि भएको जानकारी दिए । गत आवमा धान मात्रै नभएर चामल आयातमा पनि वृद्धि भएको छ । आव ०८१/८२ मा दुई अर्ब ४१ करोड रुपैयाँबराबरको दुई करोड ४८ लाख १३ हजार ५३१ किलो चामल आयात भएको छ ।

अघिल्लो आवमा एक अर्ब ७३ करोड रुपैयाँबराबरको एक करोड ३२ लाख ४१ हजार ३७६ किलो चामल आयात भएको थियो । अघिल्लो आवको तुलनामा गत आवमा मूल्यका आधारमा ४० प्रतिशतले चामल आयात बढेको छ । गत आवमा ६ अर्ब ७३ करोड रुपैयाँबराबरको १३ करोड ९६ लाख ५९ हजार ६२१ किलो मकै आयात भएको छ ।

जबकि अघिल्लो आवमा पाँच अर्ब ५९ करोड रुपैयाँ पर्ने १२ करोड ९९ लाख १८ हजार १७३ किलो मकै आयात भएको थियो । गत आवमा ४७ करोड रुपैयाँबराबरको ९१ लाख ९२ हजार ९८१ किलो फापर, कोदो र अन्य खाद्यान्न आयात भएको छ ।

जबकि अघिल्लो आवमा ४३ करोड रुपैयाँबराबरको ८४ लाख ९५ हजार ४४५ किलो फापर, कोदो र अन्य खाद्यान्न आयात भएको थियो । त्यसैगरी गत आवमा चार करोड रुपैयाँबराबरको आठ लाख ४७ हजार ७८० किलो कनिका आयात भएको छ ।