काठमाडौं, साउन २ :

एकीकृत माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले हेटौंडा सिमेन्ट उद्योगमा देखिएका समस्या समाधान गर्न र ट्रेड युनियनका माग सम्बोधन गर्न प्रतिपक्षी दलको नेताको हैसियतले आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।

आफ्नो प्रधानमन्त्रीकालमा घाटामा गएका र रुग्ण उद्योगहरू सञ्चालनमा ल्याउन सिंहदरबारमा सरोकारवालाहरुको पटकपटक बैठकहरू बसालेको उनले स्मरण गरे । सरकारी उद्योग कलकारखानाहरुको पुन:संरचना र सुधारका निम्ति माओवादी केन्द्रले चासो र पहल लिँदै आएको दाहालले दाबी गरे । उनले श्रमिकवर्ग र देशको हितमा सकारात्मक पहल लिने विश्वास दिलाए ।

हेटौंडा सिमेन्ट उद्योग लिमिटेडमा सक्रिय संयुक्त ट्रेड युनियनका प्रतिनिधिहरुले दाहाललाई शुक्रबार भेटेर उद्योगका समस्या र माग समेटिएको ध्यानाकर्षण पत्र बुझाएका थिए ।

त्यसअवसरमा ट्रेड युनियनका प्रतिनिधिहरूले उद्योग सञ्चालनमा चरम लापरबाही भएको, कर्मचारीका माग बेवास्ता गरिएको र उपभोक्ताको हितविपरीत क्रियाकलापहरू भइरहेको उल्लेख गर्दै यस्ता गतिविधि रोक्न तथा उद्योग घाटारहित रूपमा सञ्चालन गर्न पहलका लागि अध्यक्ष दाहालसँग आग्रह गरेका थिए ।