
नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले उद्योगहरु राष्ट्रका आधार भएकाले तीव्र रुपमा विस्तार हुन जरुरी रहेको बताएका छन् ।
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको वार्षिक उत्सवका अवसरमा आयोजित कार्यक्रममा उनले जीडीपीमा उद्योग क्षेत्रको योगदान घटेको र त्यसलाई बढाउन उद्योग क्षेत्रको विस्तार हुनुपर्ने धारणा राखे । उनका अनुसार रोजगारी सिर्जना गर्दै समग्र राष्ट्रको विकासमा महत्त्वपूर्ण योगदान गर्ने उद्योग क्षेत्रले नै हो । राज्यले उद्योगहरु स्थापनामा जोड दिनुपर्छ ।
अध्यक्ष पाण्डेले समग्र आर्थिक क्षेत्रको विकासका लागि उद्योगहरुको योगदान बढाउँदै लैजानुपर्ने आवश्यकता औंल्याए । सोही उद्देश्यअनुरुप आयात प्रतिस्थापन गर्दै आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने अठोटसहित नेपाल सरकार उद्योग वाणिज्य मन्त्रालयसँगको सहकार्यमा मेक इन नेपाल स्वदेशी अभियान नेपाल उद्योग परिसंघले सञ्चालन गरिरहेको जनाए ।
यो अभियानलाई सहयोग गर्नेगरी नेपाल सरकारले सार्वजनिक निकायमा स्वदेशी वस्तु प्रयोगसम्बन्धी निर्देशिका ल्याएको उनको भनाइ छ । यसको पूर्ण कार्यान्वयनले स्वदेशी उत्पादनको प्रवर्धन गर्ने एवं विकास गर्नेमा सहयोग गर्ने पाण्डेले बताए ।
‘मुलुकको दिगो आर्थिक विकासका लागि स्वदेशी उत्पादन बढाउँदै प्रतिस्पर्धी विश्व परिवेशमा उत्पादनहरुको आन्तरिक खपत बढाउँदै विश्व बजारमा प्रतिष्पर्धा गर्न सक्ने गरी अघि बढाउनु आजको आवश्यकता हो,’ उनले भने, ‘कुनै समयमा खाद्यन्न निर्यात गर्ने मुलुक अर्बौंको खाद्यन्न आयात गरेर उपभोग गरिरहेको छ । १५ प्रतिशतसम्म जीडीपीमा योगदान गरेको उद्योग क्षेत्रको योगदान घटेर ५ प्रतिशतको हाराहारीमा आइपुगेको छ ।’
उनले नेपाल सरकारबाट थप नीतिगत व्यवस्था हुन जरुरी रहेको पनि बताए ।