
खडेरीका कारण चर्किएको खानेपानी संकट र सुक्खाले सिर्जिएको कृषि समस्या समाधानका लागि मधेस सरकारले दातृ निकायसँग सहयोग मागेको छ।
जनकपुरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार सरोकारवाला मन्त्रालय र दातृ निकायसँगको बैठकमा मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेशभरि फैलिएको सुक्खा र पानीको समस्याप्रति चिन्ता व्यक्त गर्दै सबै निकायको साझा प्रयास आवश्यक रहेको बताए।
‘समस्या अबका दिनमा खाद्यान्न संकटमा परिणत हुन सक्छ,’ मुख्यमन्त्री सिंहले भने, ‘तात्कालिक राहतसँगै दीर्घकालीन समाधानको योजना सुरु गरौं।’
प्रदेशका १३६ वटै पालिकामा सुक्खाको असर परेको जनाउँदै उनले संघीय सरकारसँग पनि आवश्यक समन्वय भइरहेको जानकारी दिए।
बैठकमा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री जनार्दन सिंह क्षेत्री, गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखी र ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री शेषनारायण यादव सहभागी थिए।
गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मधेस प्रदेशलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरिसकेको छ। मधेसमा अहिले पनि उल्लेख्य वर्षा नभएको अवस्थामा समस्या थप जटिल बन्दै गएको छ।