
हिरा तथा बहुमूल्य पत्थरमा लगाइएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) खारेज गर्न माग गर्दै सुनचाँदी व्यवसायीहरूले काठमाडौंमा प्रदर्शन गरेका छन्।
काठमाडौंको माइतीघर मण्डलामा बिहीबार व्यवसायीहरूले प्रदर्शन गर्दै १३ प्रतिशत भ्याटसहित २ प्रतिशत विलासिता कर खारेजको माग गरेका हुन्। उनीहरूले २ प्रतिशत विलासिता कर र १३ प्रतिशत भ्याट उपभोक्तामाथिको भार हो भन्दै नाराबाजीसमेत गरेका थिए।
सुन तथा सुनका गहनामा लागु गरिएको २ प्रतिशत विलासिता कर खारेज गरियोस्, हिरा तथा बहुमूल्य पत्थरमा लाग्ने १३ प्रतिशत भ्याट हटाइयोस् र सुनको भन्सार दर ६ प्रतिशतमा कायम गरियोस् भन्ने प्रदर्शनकारी व्यवसायीहरूको माग छ ।
व्यवसायीहरूको भनाइमा, पछिल्लो समय सरकारले लगाएको अतिरिक्त करले बजारमा नकारात्मक असर परेको छ। आम उपभोक्ता मारमा परेका छन् भने व्यवसाय पनि धराशायी हुने स्थितिमा पुगेको छ। सरकारले उनीहरूको माग प्रति चाँडै सकारात्मक ध्यान नदिए संघर्षको रूप अझ कडा बनाउने चेतावनी पनि व्यवसायीहरूले दिएका छन्।