पर्सा, असार २१ :

चालु आर्थिक वर्षको ११ महिनामा वीरगन्ज नाका हुँदै भटमासको कच्चा तेल ५२ अर्ब ५८ करोड मूल्यको आयात भएको छ ।

गत आवको सोही अवधिको तुलनामा भटमासको कच्चा तेलको आयात ६१३.४१ प्रतिशत अर्थात् ४५ अर्ब २१ करोड बढीले आयात भएको छ । जबकि गत आवको ११ महिनामा भने सात अर्ब ३७ करोड मूल्यको मात्रै भटमासको कच्चा तेल आयात भएको थियो ।

वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले चालु आवमा यो नाका हुँदै भटमासको प्रशोधित तेल धेरै निर्यात भएको जानकारी दिए । ‘व्यवसायीले भटमासको कच्चा तेल ल्याएर प्रशोधित गरेर फेरि विदेशी मुलुकमा निर्यात गरेको देखिन्छ,’ उनले भने ।

वीरगन्ज नाका हुँदै चालु आवको ११ महिनामा भटमास तेल प्रशोधित निर्यात भने ५५ अर्ब तीन करोड मूल्य पर्ने २५ करोड ८८ लाख १४ हजार ७३२ लिटर भटमासको तेल प्रशोधित निर्यात भएको छ । जबकि गत आवको सोही अवधिमा भने आठ करोड ८३ लाख मूल्य पर्ने चार लाख ६४ हजार १३८ लिटर मात्रै निर्यात भएको थियो ।

चालु आवको ११ महिनामा यो नाका हुँदै नौ अर्ब ७५ करोड मूल्य पर्ने सूर्यमुखी तेलको कच्चा पदार्थ आयात भएको छ । जबकि गत आवको सोही समयमा भने आठ अर्ब चार करोड मूल्यको भएको थियो ।

वीरगन्ज भन्सार नाका हुँदै चालु आवको ११ महिनामा रु आठ अर्ब ४० करोड मूल्य पर्ने तीन करोड ८८ लाख ९५ हजार ३३९ लिटर सूर्यमुखीको प्रशोधित तेल निर्यात भएको छ । जबकि गत आवको ११ महिनाको अवधिमा नौ करोड ९४ लाख मूल्य पर्ने पाँच लाख २७ हजार २९१ लिटर सूर्यमुखीको प्रशोधित तेल निर्यात भएको थियो ।