
प्रतिनिधिसभाको शिक्षा, विज्ञान तथा प्रविधि समितिको विद्यालय शिक्षा विधेयक पारित गर्न बोलाइएको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ।
शिक्षामन्त्री रघुजी पन्तको आग्रहमा बैठक स्थगित गरिएको हो । बैठक कहिले बस्ने भन्ने टुंगो छैन।
शिक्षामन्त्री पन्तले परिस्थिति जटिल भएको भन्दै विधेयक पारित नगरी केही दिन छलफलका लागि समय मागेपछि बैठक स्थगन गरिएको हो। उनले बैठक स्थगनको माग गर्नु अघि प्रमुख सत्तारूढ घटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेका थिए।
बैठकमा मन्त्री पन्तले सरकारले अगाडि बढाउन नचाहेको विधेयक समितिले पारित गरेर पठाउन नमिल्ने बताए।
शिक्षक महासंघले असार १५ गतेसम्म विधेयक पारित गर्न दबाब दिँदै आएको थियो । समितिका सभापति अम्मरबहादुर थापाले अहिलेसम्मको सहमतिबाट ब्याक नहुने शर्तमा अर्को सूचना नआएसम्मका लागि बैठक स्थगित गरिएको जानकारी दिए।