रुकुम पश्चिम, भदौ २५ :

रुकुम पश्चिममा खोलाले मोटरसाइकल बगाउँदा दुई जनाको मृत्यु भएको छ । 

मुसिकोट नगरपालिका- ६ र ७ को सिमाना पर्ने रमा खोलाले आइतबार राति रा६प २९६१ नम्बरको मोटरसाइकल बगाउँदा उनीहरूको मृत्यु भएको हो । 

साँख गाउँबाट कानेवाङ आउने क्रममा मोटरसाइकल बगाउँदा मुसिकोट- ४ का ५० वर्षीय सर्जन पुन र मुसिकोट- ६ का ३२ वर्षीया निर्मला केसी थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम  पश्चिमका सूचना अधिकारी एवं प्रहरी निरीक्षक बखतबहादुर शाहीले जानकारी दिनुभयो । 

घटनाबारे प्रहरीले आज बिहान मात्र जानकारी पाएको हो । महिलाको शव खोलाभन्दा तीन सय मिटर तल र पुरुषको शव २० मिटर तल मोटरसाइकलले च्यापिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।