शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार राजनीति प्रदेश बागमती प्रदेश

वर्षायाममा मेलम्चीको पानी काठमाडौँमा नियमित वितरण हुन्छ: खानेपानी मन्त्री यादव

· मंगलबार, ३ असार, २०८२ मा प्रकाशित
वर्षायाममा मेलम्चीको पानी काठमाडौँमा नियमित वितरण हुन्छ: खानेपानी मन्त्री यादव
सिन्धुपाल्चोक, असार ३ :

खानेपानी मन्त्री प्रदीप यादवले यस वर्षको वर्षा यामको समयमा मेलम्चीको पानी नियमित रूपमा काठमाडौं वासीका घरघरमा वितरण हुने बताउनुभएको छ ।

सोमबार मेलम्चीस्थित रिबर्मा खोलामा निर्माण गरिएको खानेपानी टयाङ्कीको स्थलगत अनुगमनपश्चात् उहाँले वर्षात्को समयमा पनि काठमाडौँवासीलाई स्वच्छ खानेपानीको निरन्तर आपूर्ति हुने बताउनुभयो ।

उहाँले भन्नुभयो, “काठमाडौंमा पानी वितरणका लागि रिबर्मा खोलामा निर्माण गरिएको खानेपानी ट्याङ्कीको सफल परीक्षण भएको छ । वर्षायाम सुरु भएसँगै उत्पन्न हुने जोखिमलाई मध्यनजर गर्दै वैकल्पिक उपाय स्वरूप रिबर्मा खोलाको पानी मेलम्चीको सुरुङ मार्ग हुँदै काठमाडौँमा आपूर्ति गर्ने व्यवस्था गरेका छौँ ।”

वर्षायाममा रिबर्माको पानी मेलम्चीको सुरुङ मार्गबाट पठाइने भएपछि अब निर्बाध रूपमा मेलम्चीको पानी बाह्रैमास उपत्यका वासीलाई उपलब्ध गराइने मन्त्री यादवले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यो व्यवस्थाले उपत्यका वासीको खानेपानीसम्बन्धी समस्या दिगो रूपमा समाधान हुने अपेक्षा गरिएको छ । आगामी दिनमा काठमाडौँका नागरिकले वर्षायाममा पानीका लागि दुःख पाउनु पर्दैन । हामीले जनताका प्राथमिकता बुझेर जिम्मेवारीपूर्वक समाधान खोजिरहेका छौँ ।”

रिबर्माको पानी परीक्षण गरिएसँगै वर्षाका बेला मेलम्चीको पानी वितरणमा अवरोध आउने परम्परालाई तोड्दै वर्षायाममा पनि काठमाडौँमा नियमित पानी आउने सुनिश्चित भएको मन्त्री यादवले उल्लेख गर्नुभयो ।

वर्षातको समयमा मेलम्चीको पानी काठमाडौंमा पथान्तरण गर्न नसकिने अवस्थामा मेलम्चीकै टनेलबाट रिबर्माबाट दैनिक पाँचदेखि सात करोड लिटर पथान्तरणको सम्भावना रहेको अनुगमनपछि मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक एवं इन्जिनियर रत्न प्रसाद लामिछानेले प्रतिक्रिया दिनुभयो ।

उहाँले भन्नुभयो, “त्यसका लागि आवश्यक पर्ने सम्पूर्ण भौतिक संरचना तयार भइसकेका छन् । हाल उक्त खोलामा उपलब्ध पानी सुरुङमार्फत काठमाडौंमा पथान्तरणको सफल परीक्षण गरिएको छ । अब वर्षात्को समयमा पनि काठमाडौँमा पानी बन्द हुने छैन ।”

विगतमा वर्षा र बाढीका कारण मेलम्ची सुरुङ बन्द गर्नु परेको इतिहासलाई ध्यानमा राख्दै, यसपालि प्रविधि र पूर्वतयारीमा विशेष ध्यान दिइएको कार्यकारी निर्देशक लामिछानेले बताउनुभयो ।

मेलम्ची आयोजनाका प्राविधिक, सुरक्षाकर्मी र आपूर्ति टोलीहरू यहाँ २४सै घण्टा खटिएका छन् भने बाढी, पहिरो लगायत मनसुन जन्य विपद्को जोखिमलाई मध्यनजर गर्दै सुरुङमार्ग र वितरण प्रणालीको मर्मत तथा सुरक्षा मजबुत बनाइएको छ । विसं २०७८ को बाढीले मेलम्चीको मुहानमा पुर्‍याएको क्षतिपछि वर्षायामको समयमा नियमित खानेपानी आपूर्तिमा अवरोध उत्पन्न हुँदै आएको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार