काठमाडाैं, असार २ :

सरकारले जलस्रोत विधेयक फिर्ता गर्ने निर्णय गरेको छ। सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त विधेयक फिर्ता गर्ने निर्णय लिएको हो।

प्रतिनिधिसभा र राष्ट्रिय सभा दुवै सदनबाट पारित भइसकेको विधेयक मन्त्रिपरिषद्मा पुगेपछि फिर्ता गरिएको हो। बैठकमा उपस्थित एक मन्त्रीका अनुसार, विधेयकमा विभिन्न विवादास्पद प्रावधान र विदेशी स्वार्थ समेटिएको शंका उठेपछि निर्णय गरिएको हो।

बैठकमा जलस्रोत विधेयक सम्बन्धी विषयमा लामो समय छलफल भएको थियो। विशेषगरी, विधेयक विदेशी स्वार्थमा केन्द्रित रहेको आशंका गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले यसप्रति चासो व्यक्त गरेका थिए।

उक्त विधेयक २०८१ जेठ ३१ गते तत्कालीन ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्ति बहादुर बस्नेतले संसद्मा दर्ता गराएका थिए। विधेयक प्रारम्भदेखि नै विभिन्न राजनीतिक दल, विज्ञ, र नागरिक समाजबाट आलोचना हुँदै आएको थियो।

यसैबीच मन्त्रिपरिषद् बैठकले  प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमण स्वीकृत भएको छ । यही असार १४ गतेबाट २० गतेसम्मका लागि भ्रमण स्वीकृत भएको हो ।

स्पेन भ्रमणबाट उनी असार २० गते स्वदेश फर्किनेछन् ।

संयुक्त राष्ट्रसंघीय विकासका लागि वित्त कार्यक्रमको चौथो सम्मेलनमा सहभागी हुन उनी स्पेन जान लागेका हुन् । सम्मेलनमा संयुक्त राष्ट्रसंघमा आबद्ध मुलुकका राष्ट्रप्रमुख र सरकार प्रमुखहरूको सहभागिता रहनेछ ।