काठमाडौं, असार २ :

काठमाडौंको तीनकुने घटनाका आरोपी राप्रपाका महामन्त्री एवं प्रतिनिधिसभा सांसद धवलशमशेर राणा काठमाडौं जिल्ला अदालतमा हाजिर भएका छन् ।

उनी कार्यालय समयमा सोमबार अदालतमा हाजिर भएको सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार राणाले न्यायाधीश शिवप्रसाद खनालको इजलासमा बयान दिनेछन् । बयान सकिएपछि बहस हुने र न्यायाधीशबाट थुनछेकसम्बन्धी आदेश आउनेछ ।

२०८१ चैत १५ गते राजावादीले काठमाडौंको तीनकुनेमा गरेको आन्दोलन हिंसात्मक भएको र त्यही आन्दोलनमा सहभागी बनेका राणालाई राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव, संगठित अपराध र एकीकृत कसुरमा मुद्दा लगाइएको छ ।

यसअघि प्रहरीले अनुसन्धान पूरा गरेपछि राणालाई उपचारका लागि भनेर हाजिर जमानीमा रिहा गरेको थियो । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र भने अझै सम्पर्कमा छैनन् । उसो त मिश्रलाई पनि अदालतले हाजिरी जमानीमा रिहा गरेको थियो । प्रदर्शनका मुख्य कमान्डर दुर्गा प्रसाईंसहित ७ जना भने पुर्पक्षका लागि थुनामै छन् ।