
काठमाडौं, जेठ २५ :
सुन्धारास्थित आकाशे पुलमुनि सर्वसाधारणमाथि कुटपिट गरेको आरोपमा ट्राफिक प्रहरीका सई ईश्वर महर्जनसहित ४ जनालाई कारबाही गरिएको छ। उनीहरूलाई ट्राफिक ड्युटीका लागि अयोग्य ठहर गर्दै सशस्त्र प्रहरी गण नम्बर–२ महाराजगन्जमा सरुवा गरिएको हो।
२०८१ मङ्सिर २३ मा भएको घटनाको भिडियो २०८२ वैशाख ११ मा सार्वजनिक भएपछि आलोचना चुलिएको थियो। घटना बाहिरिएपछि उनीहरूलाई जनसेवा ट्राफिक प्रहरी वृत्तबाट तानेर उपत्यका ट्राफिक प्रहरी कार्यालयले छानबिन गरेको थियो।
छानबिनका क्रममा ती प्रहरीहरूले मोटरसाइकलमा धेरै कपडा बोकेर हिँडेको भन्दै चेकजाँच गर्दा पीडितले थुकेको दाबी गरेका थिए। सोही बहानामा ट्राफिक प्रहरीले कुटपिट गरेको देखिएको छ। घटनापछि सामाजिक सञ्जालमा कुटपिटको भिडियो भाइरल बनेको थियो।