बाजुरा, जेठ २५ :

बाजुराको बुढीगङ्गा नगरपालिकाले बाम्का बजारका आगलागीपीडितलाई राहत तथा पुनःस्थापनाका लागि एकद्वार प्रणालीबाट सहयोग गर्ने भएको छ। राहत व्यवस्थापनका लागि नगरप्रमुख रामबहादुर बानियाँको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरिएको छ।

गत शुक्रबार नवदुर्गा होटलमा ग्यास चुहावट भएर भएको आगलागीमा ३१ पसल पूर्ण र ७ पसल आंशिक रूपमा जलेर करिब १५ करोड रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान छ।

शनिबार बुढीगङ्गा र त्रिवेणी नगरपालिकाको संयुक्त बैठकले राहत तथा पुनःस्थापनाका लागि सबै तह र संघ–संस्थालाई सहयोगका लागि आह्वान गर्ने निर्णय गरेको छ। समितिमा त्रिवेणी नगरप्रमुख कर्णबहादुर थापा, उपप्रमुख कमला जैशी, बुढीगङ्गा उपप्रमुख माया खड्कालगायत रहेका छन्।

यसैबीच बुढीनन्दा नगरपालिकाले आगलागीपीडितका लागि रु एक लाख सहयोग गरेको छ। नगरप्रमुख बोहराले राहत समितिका संयोजक बानियाँलाई नगद हस्तान्तरण गरेका हुन्। नगरप्रमुख बोहराले विपत्तिको बेलामा सबै स्थानीय तह मिलेर अग्निपीडितको साथमा उभिनुपर्ने आवश्यकता रहेको बताए।