काठमाण्डौँ , भदौ २२ :

हिन्दु नारीको महान् पर्व हरितालिका तिजलाई परम्परागत रूपमा महिलाको दुःख, पीडा साट्ने दिनका रूपमा सीमित बनाए पनि पछिल्लो समयमा आएर महिला स्वतन्त्रता, समानता र सशक्तीकरणका रूपमा हेरिँदै आएको छ ।

पितृसत्तात्मक समाजमा महिलाका दबाइएका आवाज, एउटा चेलीले घरमा भोग्नुपरेको दुःख, पीडाबाट छुटकारा लिएर माइतीघरमा आमा, दिदीबहिनी, साथीभाइसँग भेटघाट गरी गीतमार्फत आफ्ना वेदना पोख्ने तिजलाई महिला सशक्तीकरणको रूपमा हेर्न थालिएको हो ।

नेपाल बार एशोसिएसनका पूर्वउपाध्यक्ष रक्षा बस्याललाई महिला स्वतन्त्रताका दिनका रूपमा आवाज उठाउँदै आएको पर्वलाई आपसी प्रेस र सद्भावका रूपमा मनाउनुपर्छ भन्ने लाग्छ । आफ्नो स्वास्थ्यलाई ख्याल गर्नुपर्छ, श्रीमानको लागि व्रत बस्नेभन्दा पनि यो पर्वले परिवारमा आपसी सद्भाव कायम गर्ने उहाँ बताउनुहुन्छ ।

उहाँलाई तिज महिलाले मात्रै मनाउनुपर्छ भन्दा पनि राष्ट्रिय पर्वका रूपमा मनाउनुपर्ने भन्ने लाग्छ ।

अखिल नेपाल महिला सङ्घका अध्यक्ष टुकाभद्र हमालको बुझाइमा महिलाको स्वतन्त्रताका दिनका रूपमा हिन्दु महिलाले मनाउँदै आएको राष्ट्रिय पर्व तिज हो । पहिला अहिले जस्तो सडक सुविधा थिएन, टाढा विवाह गरेर पठाउने चलन थियो, एक दिन तिजमा बोलाएर खुवाउनुपर्छ भन्ने थियो तर अहिले महिला सशक्तीकरणको राम्रो दिन बनेको छ ।

यो पर्व मनाउँदै गर्दा महिला सचेत भएर निरङ्कुशताविरुद्ध, समाजमा भएका महिलामाथि हुने हिंसा विरुद्ध, सामाजिक रूपान्तरण र चेतनाका गीत गाउन थालेको उहाँको अनुभव छ । 

महिलाले खाएर नाचेर मात्र पर्वको सार्थकता नहुने र महिलाको हकअधिकारको आवाज उठाउने, क्षमता अभिवृद्धि गर्ने र आयआर्जन गर्ने खालका काम गर्नुपर्छ भन्ने उहाँको ठम्याइ छ ।

सञ्चारकर्मी तथा महिला अधिकारकर्मी वन्दना राणाले तिज पर्वलाई समानता, सशक्तीकरण र सहअस्तित्वको उत्सवका रूपमा नौ वर्षदेखि ‘तिज उत्सव’ मनाउँदै आउनुभएको छ । यस वर्ष उहाँले सुदूरपश्चिमको कञ्चनपुरमा तिज संवाद गर्नुभएको छ ।

तिज पर्वलाई महिला सशक्तीकरण, समानता, सद्भावको उत्सवका रूपमा मनाउनुपर्छ”, संयुक्त राष्ट्रसङ्घको महिलामाथि हुने सबै प्रकारका भेदभाव उन्मूलन गर्ने महासन्धि (सीड) कमिटीका सदस्य राणाले भन्नुभयो, “नेपाली संस्कृतिको कुरीतिहरूलाई हटाउँदै संस्कृति र प्रथाको गर्व गर्दै राम्रो पक्षलाई अगाडि लैजानुपर्छ भनेर तिज संवाद मनाउन लागिएको हो ।”

उहाँलाई तिज पर्व महिला स्वतन्त्रताको दिनका रूपमा मनाउने तरिका राम्रो लाग्ने उल्लेख गर्नुभयो । पृत्ति सतात्मक सोचका कारण महिलालले स्वतन्त्रता एकदम कम हुन्छ, सहरी महिलालाई मात्र हेरेर हुँदैन, गाउँगाउँमा महिलाको अवस्था अहिले पनि उस्तै छ, महिला पनि एक दिन माइत आउँन, आफ्ना आमा, दिदीबहिनी, साथीभाइसँग भेट्न पाउनु राम्रो हो ।

महिला सशक्तीकरण र सद्भावका लागि पर्व असाध्यै राम्रो रहेको र गाउँगाउँमा धेरै महिला माइत जान पाउनु, दिदीबहिनी रमाउन पाउनु असाध्यै खुसीको कुरा भएको राणाको भनाइ छ । 

संस्कृतिविद् डा शोभा ढुङ्गानाका अनुसार पहिला हिन्दु नारीले मात्र तिज मनाउने भए तापनि अहिले सबै धर्म, समुदायका महिलाले मनाउने गरेको र मुलतः महिलाको पुनःमिलनको पर्व हो ।

हिलाबीच वर्षमा एक दिन भए पनि एकापासमा भेटघाट हुने अवसर मिलेको छ, संस्कृतिको प्रसार भएको छ, महिलाले खुसी साट्न पाएका छन् । केही विकृति पनि छ, त्यसलाई कम गरेर संस्कृति, स्वतन्त्रता दिवस र महिलाको पुनःमिलनको पर्वका रूपमा मनाउनुपर्छ ।

डा ढुङ्गानाका अनुसार परम्पराअनुसार श्रीमान्को दीर्घायुको कामना गरी व्रत बस्ने, माइतमा आमा, दिदीबहिनीसँग भेटघाट गर्ने, दुःखसुखका भावना आपसमा बाँड्ने रूपमा मनाउँदै आए पनि स्वस्थानी व्रत कथाको सुरु भएपछि हरितालिका तिजको महत्व अझ बढ्दै आएको पाइन्छ ।

तिज पर्व महिलाको पर्व भएकाले आपसमा सौहार्दपूर्ण तरिकाले, तडभडक नगरी, महिलाको स्वतन्त्रता, सशक्तीकरण र समग्र महिलाको हितको विषयसँग पर्वलाई जोड्न जरुरी छ ।