काठमाडौं, जेठ १७ :

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीले ४० वर्षभन्दा कम उमेरका कम्तीमा ४० प्रतिशत महिलालाई संगठित गर्न अखिल नेपाल महिला संघको नेतृत्वलाई निर्देशन दिएका छन् ।

अनेमसंघ केन्द्रीय कमिटीको पूर्ण बैठकमा ओलीले ४० वर्षमुनिका ४० प्रतिशत र ३० वर्षमुनिका कम्तीमा ३० प्रतिशत महिलालाई सदस्य बनाएर देशव्यापी अभियानमा लाग्न आग्रह गरेका हुन् । उनले महिलावादका नाममा जुनसुकै विचारका महिलालाई पनि समर्थन जनाउने खालको सोच गलत भएकाले संघलाई निष्ठावान्, क्षमतावान् र सक्रिय संगठनका रुपमा स्थापित गर्नुपर्नेमा पनि जोड दिए ।

अध्यक्ष ओलीले पार्टीका विपक्षमा नभई पक्षमा सामाजिक सञ्जालमा प्रस्तुति दिन पनि आग्रह गर्दै नेपालले दुई कार्यकाल महिलालाई राष्ट्रपति र सबै तहमा कम्तीमा ३३ प्रतिशत महिला सहभागिता अनिवार्य गराएर कतिपय विकसित मुलुकभन्दा अग्रगामी रुपमा आफूलाई उभ्याएको स्पष्ट गरे ।

उनले मिसन २०८४ को अभियानमा जुट्न आह्वान गर्दै एमालेलाई एकल बहुमतको पार्टीका रुपमा स्थापित गरी इतिहास कायम गरेर मुलुकको विकास, सुशासन र समृद्धिको गतिलाई तीव्रता दिनुपर्ने धारणा राखे ।