
गाउँसहरमा तीज पर्वको रौनक छाइरहँदा कलाकार पनि बेफुर्सदिला बनेका छन् । गत असारदेखि तीज गीत सार्वजनिक गर्न उछिनपाछिन गरेका कलाकारलाई अहिले देशविदेशका कार्यक्रममा पुग्न भ्याइनभ्याइ छ ।
आयोजकले महिला कलाकारलाई मात्र नभएर पुरुष कलाकारलाई पनि तीजका कार्यक्रममा उत्तिकै महत्व दिएर निम्त्याउने गरेका छन् । कलाकारलाई तीज पर्व कमाइको माध्यम बन्ने गरेको छ । यो वर्ष तीन सयभन्दा बढी तीज गीत सार्वजनिक भए ।
गायिका विष्णु माझीको ‘आइन आमा यो तीजमा...’ ले युट्युबमा सार्वजनिक भएको १० दिनमा (मङ्गलबार दिउँसो सम्ममा) एक करोड १३ लाखभन्दा बढी पटक सुनिएको- हेरिएको छ । जुन यो वर्ष युट्युबमा सबैभन्दा बढी ‘भ्यूज’ पाएको तीज गीत हो ।
एकातिर युट्युब ‘भ्यूज’ का आधारमा कलाकारले पैसा पाउँछन् भने अर्कातिर तीजका अवसरमा हुने मेला, उत्सव पनि कलाकारका लागि आयआर्जनको बाटो बन्ने गरेको छ ।
अन्य गीतलाई थाँती राखेर अधिकांश लोकगायक- गायिकाले यस समयमा तीज गीत सार्वजनिक गर्ने गरेका छन् । पछिल्लो समय विदेशमा रहेका नेपालीले पनि तीज पर्वलाई उल्लासका साथ मनाउँदै आएका छन्। नेपालबाट चल्तीका गायकगायिकालाई बोलाएर सँगसँगै नाचगान गरि रमाइलो गर्ने गरेका छन् ।
गायिका शान्तिश्री परियार, रचना रिमाल, ज्योति मगर र कलाकार करिष्मा ढकाल तीजको मौका पारेर साङ्गीतिक यात्राका क्रममा अमेरिका पुगेका छन् । झण्डै दुई महिने यात्राका क्रममा उनीहरूले अमेरिकाका २१ सहरमा तीज विशेष कार्यक्रम गर्ने तय भएको जनाइएको छ ।
अमेरिका, बेलायत, अष्ट्रेलिया, जापान लगायत देशमा कलाकार तीज कार्यक्रममा सहभागी भइरहेका छन् । युरोप र अरब देशहरूमा रहेका नेपालीले पनि तीज पर्वमा विविध कार्यक्रम आयोजना गरेका छन् ।
गायक दुर्गेश थापा गत साता अष्ट्रेलिया पुगेर फर्किनुभयो । यसपालि तीज गीत ‘बिच्च बिच्चमा- ७’ सार्वजनिक गरेर चर्चामा आउनुभएका थापाले एडिलेड र सिड्नीका दुई कार्यक्रममा प्रस्तुति दिएको बताउनुभयो ।
अहिलेको तीजमा विदेश र नेपालका केही सहरमा प्रस्तुति दिने उहाँले बताउनुभयो । कलाकार धानिने भनेकै यस्तै कार्यक्रमले भएको उहाँ बताउनुहुन्छ ।
गायक थापाले यही २० गते बागलुङ र २१ गते तीजका दिन पोखराको लामाचौरमा हुने तीज महोत्सवमा प्रस्तुति दिने कार्यक्रम गरेको छ ।
गायिका समीक्षा अधिकारी, गायक रामजी खाँड लगायत कलाकार पनि तीज विशेष साङ्गीतिक कार्यक्रमका लागि यतिबेला जापानमा छन् ।
नागोया, फुकोआका लगायतका जापानका विभिन्न सहरमा आफूहरूको प्रस्तुति रहने गायिका समीक्षा अधिकारीले जानकारी दिनुभयो ।
गायक श्रीकृष्ण बम मल्ल तीज विशेष कार्यक्रमका लागि बेलायत पुग्नुभएको छ । गायिका लक्ष्मी मल्ल हङकङ पुग्नुभएको छ ।
त्यस्तै गायिका कोमल वली, देवी घर्ती, गायक पशुपति शर्मालगायत कलाकारहरुले पनि तीजका अवसरमा अष्ट्रेलियाका विभिन्न सहरमा प्रस्तुति दिइरहेका छन् ।
विदेश जान नपाएका कलाकारले स्वदेशकै विभिन्न ठाउँका कार्यक्रममा पुगेर प्रस्तुति दिइरहेका छन् ।