
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।
न्यायाधीशद्वय कुमार चुडाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले मिश्रलाई हाजिरी जमानीमा थुनामुक्त गर्न आदेश दिएको हो । योसँगै मिश्र ५० दिनपछि प्रहरीको नियन्त्रणबाट रिहा भएका छन् ।
पछि मुद्दा चल्ने अवस्था आए वा थप प्रमाण बुझ्नुपर्ने भएमा बोलाउनेगरी कानुन व्यवसायीको जिम्मा लगाउने गरी मिश्रलाई रिहा गर्न सर्वोच्चले आदेश दिएको हो ।
त्यसअघि बुधबार सर्वोच्चका न्यायाधीश सुनीलकुमार पोखरेलको इजलासले मिश्रलाई पक्राउ गर्नको कारण देखाऊ र बन्दी उपस्थित गराउने आदेश गरेको थियो ।
गत चैत १५ गते पक्राउ परेका मिश्रसहितका आरोपितलाई आठौँपटक मंगलबार थप ५ दिन म्याद थप गरिएको थियो । राजावादीले गत चैत १५ गते काठमाडौंको तीनकुनेमा आयोजना गरेको प्रदर्शन हिंसात्मक भएपछि त्यसमा भूमिका खेलेको आरोपमा मिश्रलगायतमाथि प्रहरीले विभिन्न अभियोगमा अनुसन्धान गरिरहेको जनाएको छ ।
उक्त प्रदर्शनमा दुईजनाले ज्यान गुमाएका थिए भने करोडौंको सम्पत्तिमा क्षति पुगेको थियो ।