
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई सर्वोच्च अदालतमा बिहीबार हाजिर गराइएको छ।
मिश्रलाई बन्दी प्रत्यक्षीकरण सम्बन्धी रिटको सुनुवाइका लागि सर्वोच्च लगिएको हो। जिल्ला प्रहरी परिसर, काठमाडौंको हिरासतमा रहेका मिश्रलाई सर्वोच्च अदालतको आदेशअनुसार अदालतमा उपस्थित गराइएको हो। मिश्रलाई सर्वोच्च अदालतमा उपस्थित गराएर पुनः प्रहरी हिरासतमा फर्काइएको छ ।
उनकी पत्नी सरिका कार्कीले दर्ता गराएको बन्दी प्रत्यक्षीकरणको निवेदनमा सर्वोच्चले कारण देखाउ आदेश जारी गर्दै मिश्रलाई अदालतमा उपस्थित गराउन निर्देशन दिएको थियो। सोही आदेशअनुसार बिहीबार मिश्रलाई हतकडीबिना सर्वोच्च अदालत लगिएको हो।
मिश्रमाथि तीनकुने घटनासँग सम्बन्धित आरोपमा अनुसन्धान भइरहेको छ। यसअघि जिल्ला अदालतमा म्याद थप सुनुवाइका क्रममा उनलाई हतकडी लगाएर उपस्थित गराइएको थियो। तर, सर्वोच्चमा भने हतकडीबिना ल्याइएको छ। यस मुद्दाको सुनुवाइ शुक्रबारका लागि तोकिएको सर्वोच्च अदालतले जनाएको छ।