
सर्वोच्च अदालतले राप्रपाका बरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई पक्राउ गर्नुको कारणसहित २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको छ । बुधबार न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले उनलाई २४ घण्टाभित्र अदालतमा सशरीर उपस्थित गराउन आदेश दिएको हो ।
मिश्रकी श्रीमती सारिका कार्कीले दायर गरेको बन्दीप्रत्यक्षीकरणको निवेदनमा न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले बन्दीसहित २४ घण्टाभित्र उनीमाथि अनुसन्धान भइरहेको अभियोगको सक्कल फाइलसहित उपस्थित हुन आदेश दिएको हो।
जारी आदेशमा भनिएको छ, ‘विपक्षी नं ७ ले यो आदेश प्राप्त भएको २४ (चौबिस) घण्टाभित्र यी निवेदक उपर अनुसन्धान भइ रहेको राज्य विरुद्धको अपराध समेतको मुद्दाको सक्कल मिसिल इजलास समक्ष देखाइ फिर्ता लैजाने गरी बन्दीसहित लिखित जवाफसाथ महान्यायाधिवक्ताको कार्यालय मार्फत उपस्थित हुनू।’
मिश्रकी पत्नी कार्कीले आफ्नो पतिलाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै मंगलबार सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिएकी थिइन् । तीनकुने हिंसात्मक आन्दोलनपछि पक्राउ परेका मिश्रलाई पटक-पटक गरी आठौं पटक म्याद थप भइसकेको छ । नयाँ-नयाँ अभियोग लगाउँदै हिरासतको बसाई लम्ब्याउने काम भइरहेको मिश्रको आरोप छ ।
गत चैत १५ गते भएको राजावादीको आन्दोलनमा २ जनाको ज्यान गएको थियो भने निजी,सरकारी भवन र सवारी साधनमा आगजनी गरी क्षति पुर्याइएको थियो ।