रुकुमपश्चिम, वैशाख २९ :

रुकुमपश्चिमको सानीभेरी गाउँपालिका –१० तिमीलेमा स्कार्पियो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दाङबाट कुलपूजा गर्न रुकुमपश्चिम आएर फर्कनेक्रममा लुप्र ०२–००१ च ०१७७ नम्बरको स्कार्पियो दुर्घटना हुँदा श्रीमान र श्रीमतीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रहरी नायब उपरीक्षक प्रमेश विष्टका अनुसार दुर्घटनामा परेर सानीभेरी गाउँपालिका –१० घर भई हाल दाङको तुल्सीपुरमा बस्दै आएका ५० वर्षीय नरबहादुर ओली र उनकी श्रीमती ४४ वर्षीया लिला ओलीको मृत्यु भएको हो ।

नरबहादुरको घटनास्थलमै मृत्यु भएको भएको थियो भने उनकी श्रीमतीको उपचारका लागि अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

दुर्घटनामा परेका अन्य दुई जना गम्भीर घाइते छन् । उनीहरुलाई उपचारको लागि अहिले चौरजहारी अस्पतालमा लगिएको छ । गाडी सडकबाट करिव पाँचसय मिटर तल खसेको थियो ।  ब्रेक फेल भएर सो दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।