काठमाडौं, वैशाख २५ :

राजसंस्था पुनःस्थापनाको माग गर्दै राजावादी समूहले आगामी जेठ १५ गतेदेखि अनिश्चितकालीन आन्दोलन गर्ने घोषणा गरेको छ।

काठमाडौंमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा राजतन्त्र पुर्नस्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले आन्दोलन गर्ने घोषणा गरेका हुन्। उनले आन्दोलन शान्तिपूर्ण हुने र यसको स्वरूप भद्र अवज्ञा र सत्याग्रहमा आधारित हुने बताए।

‘हाम्रो आन्दोलन कुनै पार्टी वा सरकारविरुद्ध होइन,’ सुवेदीले भने, ‘जनताको अधिकार र सार्वभौमसत्तालाई अझ मजबुत बनाउने हाम्रो उद्देश्य हो।’ सुवेदीले जनताको अधिकार र सार्वभौमसत्तालाई अझ मजबुत बनाउने बताए ।

कार्यक्रममा संयोजक सुवेदीले जेठ १५ गतेदेखि धर्ना, जुलुस र प्रदर्शन गर्न राजावादी समर्थकहरुलाई आग्रह समेत गरेका छन्। उनले सबैलाई यसमा सहभागी हुन पनि आह्वान गरे ।
आन्दोलनबारे विस्तृत कार्यक्रमपछि सार्वजनिक गरिने सुवेदी बताए ।  चैत १५ गतेको प्रदर्शनमा पक्राउ परेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र लगायतको रिहाइ माग गरिएको छ।

राजसंस्था र सनातन हिन्दू धर्म पुनःस्थापनाको माग गर्दै समिति नै गठन गरिएको छ।  सुवेदीकै नेतृत्वमा गठन भएको समितिले दुर्गा प्रसाईंलाई चैत १५ गतेको आन्दोलनको कमान्डर तोकेको थियो। सो प्रदर्शन हिंसात्मक बन्दा दुई जनाको ज्यान गएको थियो भने धेरै गाडी र सम्पत्तिमा क्षति पुगेको थियो।

घोषणासभामा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा र नेता केशरबहादुर विष्टलगातका नेताहरु सहभागी थिए।