काठमाडौं, वैशाख २२ :

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुदूरपश्चिम प्रदेशका माओवादी सांसदहरूलाई छलफलका लागि काठमाडौं बोलाएका छन् ।

प्रदेश संसदीय दलको नेताबारे विवाद चुलिएपछि सहमति खोज्न प्रचण्डले २४ वैशाख बिहान ९ बजे खुमलटारस्थित निवासमा बैठक डाकेका हुन्। माओवादी केन्द्रको केन्द्रीय कार्यालयले सबै सांसदलाई बैठकमा अनिवार्य रूपमा उपस्थित हुन सूचित गरेको छ ।

माघ १२ गते सुदूरपश्चिम प्रदेशका बहुमत सांसदले खगराज भट्टलाई हटाएर रमेश धामीलाई संसदीय दलको नेता चयन गरेका थिए। तर, अध्यक्ष प्रचण्डले भट्टलाई पुनः दलको नेतामा नियुक्त गर्न पटक–पटक निर्देशन दिँदै आएका छन्। यद्यपि, उक्त निर्देशन अहिलेसम्म कार्यान्वयनमा आउन सकेको छैन। दलभित्र सहमति जुटाउन नसकेपछि नेतृत्वको टकराव संघीय नेतृत्वकै सरोकार बन्न पुगेको छ ।