दैलेख, भदौ १७ :

दैलेखमा एक गर्भवतीको हेलिकप्टरबाट उद्धार गरिएको छ । आठबिस नगरपालिका- ९ की २४ वर्षीया कौशी कठायतलाई नेपाली सेनाको हेलिकप्टरबाट शनिबार साँझ उद्धार गरिएको हो । 

सुत्केरी व्यथा लागेपछि कौशीलाई कर्णाली प्रादेशिक अस्पताल सुर्खेत लगिएको र अत्यधिक रक्तश्राव भएपछि उनलाई हेलिकप्टरमार्फत उद्धार गरी उपचारका लागि सुर्खेत पठाइएको दैलेखका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानकारी दिनुभयो । 

गर्भवतीको स्वास्थ्यमा जोखिम भएको जानकारी पाएपछि जिल्ला प्रशासन कार्यालयको समन्वयमा राष्ट्रपति महिला उद्धार कोषमार्फत महिला, बालबालिका मन्त्रालयले कठायतलाई उद्धार गरी प्रदेश अस्पताल सुर्खेत पठाएको हो ।

अत्यधिक रक्तश्राव भएपछि सुविधासम्पन्न अस्पतालसम्म लैजान हवाई उद्धारका लागि आवश्यक समन्वय गरिदिन आठबिस नगरपालिकाले जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गरेको थियो ।