ललितपुर, वैशाख १८ :

नेपाली कांग्रेसका उपसभापति एवं पूर्वमन्त्री धनराज गुरुङले  भिसा नवीकरण, श्रम स्वीकृतिलगायतका सामान्य काममा समेत ढिलाइ हुँदा विदेशमा रहेका नेपालीले दुःख व्यहोर्नु परिरहेको बताएका छन्। 

नेपाली कांग्रेसको नेपाली जनसम्पर्क समिति समन्वय विभागद्वारा पार्टीको केन्द्रीय कार्यालय सानेपामा आज आयोजित ‘प्रवासमा नेपालीः सरकारको दायित्व र जनसम्पर्क समितिहरुको भूमिका’ विषयक अन्तर्क्रियामा गुरुङले त्यसको सहजीकरणका लागि पार्टी केन्द्रीय कार्यालयमा डेस्क स्थापना गर्नुपर्नेमा जोड दिए ।

‘विदेशमा रहेका नेपालीको भिसा नविकरण, श्रम स्वीकृतिलगायतका सामान्य काममा समेत ढिलाइ हुँदा असाधारण क्षति व्यहोर्नुपरेको छ,’उनले भने, ‘पार्टीको केन्द्रीय कार्यालयमा सहजीकरणका लागि डेस्क स्थापना गर्नुपर्छ ।’ 

यस्ता अन्तर्क्रिया र छलफलले भएका समस्यालाई समाधान गर्ने गरि काम गर्न सहयोग पुग्ने गुरुङले विश्वास व्यक्त गरे।

उनले गैरआवासीय नेपालीलाई परेको समस्या समाधान गर्नेगरी नेपालमा सहजरूपमा काम गर्न सक्नेगरी लगानीमैत्री वातावरण सिर्जना गर्ने गरि छलफल केन्द्रीत भएर पार्टीलाई सुझाव दिन पनि आग्रह गरे ।