काठमाडाैं, वैशाख १३ :

पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरिफले जम्मु–कश्मीरको पहलगाममा हालै भएको आतंकवादी आक्रमणमा भारतले आधारहीन आरोप लगाएको बताएका छन् ।

शरिफले भारतलाई यस्ता आरोप बन्द गर्न चेतावनी दिँदै घटनाको निष्पक्ष अनुसन्धानका लागि सहयोग गर्न पाकिस्तान तयार रहेको बताएका छन्। बीबीसी उर्दूका अनुसार उनले सेना सीमा सुरक्षाका लागि तयार रहेको र कुनै किसिमको गडबडी नहुने स्पष्ट पारेका छन्।

प्रधानमन्त्री शरिफले भने, ‘शान्ति हाम्रो चाहना हो, तर यसलाई हाम्रो कमजोरी नठान्नू।’ उनले पाकिस्तानले आफ्नो सार्वभौमसत्ता र राष्ट्रिय सुरक्षालाई जस्तोसुकै परिस्थितिमा पनि जोगाउने प्रतिवद्धता व्यक्त गरेका छन्।

अप्रिल २२ मा पहलगाममा भएको आतंकवादी आक्रमणमा २६ जना पर्यटकको ज्यान गएको थियो, जसमा एक नेपाली नागरिक, सुदीप न्यौपाने पनि परेका थिए।

आक्रमणपछि भारतले पाकिस्तानमाथि कडा कदम उठाएको छ। भारतले पाकिस्तानसँगको सिन्धु जल सन्धि निलम्बन गर्ने, अटारी सीमा बन्द गर्ने लगायतका निर्णयहरू गरेको छ।

जवाफमा पाकिस्तानले पनि भारतसँग भएका द्विपक्षीय सम्झौता निलम्बन गर्ने, हवाई तथा स्थल सीमा बन्द गर्ने निर्णय लिएको छ।

स्थिति थप तनावपूर्ण बन्दै गएको बेला दुई देशबीचको सम्बन्ध अझ बिग्रने संकेत देखिएको छ।