काठमाडौं, वैशाख १० :

जम्मु-कश्मीरको पर्यटकीय क्षेत्र पहलगाममा मंगलबार भएको आतंकवादी आक्रमणमा मारिएका नेपालीको पहिचान खुलेको छ ।

परराष्ट्रमन्त्री डा. आरजु राणाका अनुसार उनी रुपन्देहीको  बुटवल ११, कालिकानगरका सुदीप न्यौपाने हुन् । यस्तै आक्रमणमा उनकी आमा रेनु पाण्डे घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

उनीहरु घुमघामका लागि त्यहाँ पुगेका थिए । भारतीय सञ्चारमाध्यमले हमलामा मारिनेको संख्या अहिलेसम्म २८ पुगेको उल्लेख गरेका छन् ।

परराष्ट्रमन्त्री राणाले काश्मीरमा आतङ्ककारीको आक्रमणमा परी मृत्यु भएका न्यौपानेको निधनको खबरले आफू निकै मर्माहत भएको उल्लेख गरेकी छन् । उनले मृतकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा गहिरो समवेदना व्यक्त गरेकी छन् ।

साथै उनले आतङ्ककारी हमलामा परेर घाइते भएकी उनकी आमाको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छन् । यस्तो क्रूर र अमानवीय कार्यको नेपाल सरकारले निन्दा र भर्त्सना गर्दै  दु:खद घडीमा भारत सरकार र भारतीय जनताको साथमा रहेको जनाइएको छ । 

आतंकवादी हमलाको प्रधानमन्त्रीद्वारा निन्दा