
काठमाडौं, वैशाख १० :
प्रधानमन्त्री केपी ओलीले जम्मु कश्मीरको पहलगाममा निर्दोष पर्यटकमाथि भएको बर्बर आतंकवादी हमलाको निन्दा गरेका छन् ।
सामाजिक सञ्जाल एक्समा उनले उक्त हमलामा परी ज्यान गुमाएकाप्रति समवेदना व्यक्त गरेका छन् । ‘दुःखको यो घडीमा नेपाल सरकार भारत सरकारका साथ दृढतापूर्वक उभिएको छ, आतंकवादका कुनै पनि रूप र प्रकटीकरणको नेपाल सरकार भर्त्सना गर्दछ ।’
आक्रमणमा एक नेपाली पनि परेको भन्ने विवरण पुष्टि गर्न सम्बन्धित निकायहरूसँग सरकार निकट सम्पर्क एवं समन्वयमा रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सरकारका तर्फबाट हरसम्भव सहयोग हुने प्रतिबद्धता व्यक्त गरेका छन् ।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार मंगलबार अपराह्न भएको उक्त आक्रमणमा परी एकजना नेपालीसहित २६ जनाको मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन् ।