काठमाडौं, वैशाख ९ :

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र भारतका  विद्युत् र आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टरले अरुण तेस्रो जलविद्युत् आयोजनाको स्थलगत अवलोकन गरेका छन् ।

ऊर्जामन्त्री खड्काको निमन्त्रणमा दुईदिने औपचारिक भ्रमणमा आएका खट्टरले भारतीय लगानीमा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाको पावर हाउस र बाँध क्षेत्रको स्थलगत अवलोकन गरे । सोही क्रममा खड्का र खट्टरले आयोजनाको ‘युनिट-२’को संयुक्त रुपमा उद्घाटन गर्नुका साथै पावरहाउस नजिक बिरुवारोपणसमेत गरे ।

अवलोकनका क्रममा मन्त्रीद्वयले ठेकेदार कम्पनीसँग अहिलेसम्मको आयोजनाको प्रगति र आयोजना निर्माणका क्रममा देखिएको समस्याबारे जानकारी लिएका थिए । ऊर्जामन्त्री खड्काले नेपालको ऊर्जा क्षेत्रको विकासमा भारत सरकारले गरेको सहयोगप्रति धन्यवाद दिँदै आयोजनालाई समयमै सम्पन्न गर्न निर्देशन दिए ।

‘अरुण तेस्रो देशकै महत्त्वपूर्ण जलविद्युत् आयोजना भएकाले सरकारले यसलाई उच्च प्राथमिकता दिएको छ,सरकारले कुनै कमी हुन दिँदैन । तपाईंहरुले आयोजनालाई चाँडो सम्पन्न गर्न लाग्नुहोस्,’ खड्काले भने ।

भारतका विद्युतमन्त्री खट्टरले नेपाल जलविद्युत्‌को क्षेत्रमा अपार सम्भावना भएको मुलुक भएकाले ऊर्जा क्षेत्रबाटै समृद्धि हासिल गर्न सकिने बताए । उनले अरुण तेस्रो जलविद्युत् आयोजना चाँडो सम्पन्न गर्नसके दुवै देशलाई फाइदा हुने भएकाले समयमै सक्नुपर्नेमा जोड दिए । भारत सरकार नेपालको जलविद्युत् क्षेत्रमा लगानी गर्न तयार रहेको उनको भनाइ थियो ।

संखुवासभाको मकालु र चिचिला गाउँपालिकाको सीमानामा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजना ९०० मेगावाटको छ । उक्त आयोजना पाँच वर्षमा निर्माण सम्पन्न गर्ने गरी २०७५ वैशाखमा नेपालका तत्कालीन प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा शिलान्यास गरेका थिए ।

एक खर्ब चार अर्ब रुपैयाँमा निर्माण सम्पन्न हुने आयोजना निर्माणको ठेक्का भारतीय सतलज हाइड्रोपावर कम्पनीले पाएको छ ।