काठमाडौँ, वैशाख ३ :

वातावरण विभागले प्रदूषण नियन्त्रणका लागि अनुगमन बढाउने जनाएको छ । 

विभागले नेपालमा विशेषगरी मङ्सिरदेखि जेठसम्म वायुप्रदूषण उच्च हुने गरेकाले प्रदूषण न्यूनीकरणका लागि सवारीसाधन तथा उद्योगको अनुगमन बढाउने जनाएको हो । 

वायुप्रदूषणको मुख्य कारण उद्योग कलकारखाना र सवारीसाधनबाट निस्कने धुवाँ, निर्माणकार्य, खुला रूपमा फोहर तथा कुहिने अवशेष जलाउनु, घरबाट निस्कने धुवाँ धुलो आदि रहेको विभागको भनाइ छ । 

विभागका महानिर्देशक ज्ञानराज सुवेदीले वातावरणीय प्रदूषण गर्नेलाई कडाइका साथ अनुगमन तथा नियमन गरेर प्रदूषण न्यूनीकरणका तत्कालीन योजना कार्यान्वयन गर्ने जानकारी दिए । 

लामो समयसम्म पानी नपर्दा एक साताअघि प्रदूषण बढेर आपत्कालीन अवस्थामा पुगेको थियो । अहिले वर्षासँगै एक सय १३ एक्युआइको हाराहारीमा प्रदूषण पुगेको छ । जबकि साता दिनअघि ३७० एक्युआइ नाघेको उनले बताए ।

वर्षाले प्रदूषणलाई राहत दिए पनि वर्षा रोकिएपछि प्रदूषण बढ्न सक्ने भएकाले नियन्त्रणका लागि प्रदूषणको अवस्था उच्च हुँदामात्रै होइन बाह्रै महिना प्रयासरत रहने उनको भनाइ छ ।

विभागले वन डढेलो लगाउनु सार्वजनिक अपराध भएकाले उक्त कार्य नगर्न, घरायसी ठोस फोहर तथा प्लाष्टिकजन्य फोहर तथा कृषिजन्य अवशेषहरू नजलाउन, सवारीसाधनको नियमित मर्मतसम्भार गर्न, उद्योग कलकारखाना तथा भान्सामा स्वच्छ ऊर्जाको प्रयोग गर्न, सडक तथा निर्माणकार्यबाट उड्ने धुवाँ धुलो नियन्त्रण गर्न सुझाव दिएको छ ।