
मन्त्रिपरिषद्का पूर्वअध्यक्ष तथा पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले लोकतन्त्रमा जनता नै सर्वोपरि रहेको जनाएका छन् । नयाँ वर्ष २०८२ का अवसरमा शुभकामना सन्देश दिँदै उनले यस्तो जनाएका हुन् ।
‘नेपालको सामाजिक र राजनीतिक इतिहासलाई हेर्ने हो, सम्झने हो र मनन गर्ने हो भने आजसम्मको यात्रामा नेपाली जनताले ठुलो आरोह अवरोह पार गर्दै लाखौँको बलिदान र जीवन मूल्य नचुकाई त्यसै जनता सार्वभौम बनेको होइनन् भन्ने छर्लङ्ग हुन आउँछ । लोकतन्त्रमा जनता नै सर्वोपरि हुन् । त्यसैले त सबै विषयको संवाहक शक्ति जनता भए,’ नयाँ वर्षका अवसरमा शुभकामना सन्देशमार्फत रेग्मीले भनेका छन् ।
उनले वर्तमान अवस्थामा जनतामा आक्रोश र असन्तुष्टि फैलिएको बताएका छन् । यसको सम्बोधन गर्नु राज्यको दायित्व रहेको पनि उनले औंल्याएका छन् । ‘आज जनसाधारणमा एक किसिमको असन्तुष्टि, आक्रोश र निराशा बढिरहेको छ । युवा शक्ति विदेसिने क्रम बढ्दो छ । यसको कारण र निदान खोज्दै त्यसलाई सम्बोधन गर्नु राज्यको दायित्व
हो,’ उनले भनेका छन्, ‘शिक्षा, स्वास्थ्य, रोजगारी आमसरोकारका विषय हुन् । कृषि, कृषिजन्य उद्योग र पर्यटनलाई जनसाधारणसँग जोडेर जनजीविकाको सशक्त माध्यम बनाउनु अनिवार्य छ । यी विषयलाई प्राथमिकताका साथ सम्बोधन गर्ने गरी कार्यक्रम ल्याई बजेटको न्यायोचित वितरण गर्न सके मात्र समृद्धिको ढोका खुल्दै जाने हो ।’
उनले जनताको आवश्यकता पहिचान र त्यसको सम्बोधन अहिलेको मुख्य विषय रहेको पनि शुभकामना सन्देशमार्फत भनेका छन् । उनले भनेका छन्, ‘आजको मुख्य विषय भनेको जनताको आवश्यकताको पहिचान र त्यसको सशक्त सम्बोधन, परिणाममुखी र नतिजामुखी काम नै हो । राज्यको साधन स्रोतको अधिकतम सदुपयोग र त्यसको प्रतिफल जनतासमक्ष पुग्नु नै हाम्रो सफलता हो, जनताको सन्तुष्टिको अवस्था हो । जनता खुसी र सुखी भए राष्ट्रिय एकता, आपसी सद्भाव, अमन-चयन कायम भई राज्य बलियो हुने हो ।’
मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीले चैत १५ मा तीनकुनेमा भएको हिंसा र आगजनीको घटनाले मुलुकमा पुन: द्वन्द्व निम्तिने हो कि भनेर चिन्तासमेत जनाएका छन् । उनले यस्ता घटना दोहोरिन नदिन राज्यसँगै सबै पक्ष सचेत हुनका लागि आह्वानसमेत गरेका छन् । उनले यो घटनालाई अक्षम्य रहेको पनि जनाएका छन् ।
‘परन्तु हालै काठमाडौँ तीनकुनेमा भएको हिंसा, आगजनी, लुटपाट जस्ता घटनाले आमनेपालीको मनमा फेरि द्वन्द्व निम्तिने त होइन भन्ने कुराको चिसो पसेको छ । आफ्ना कुरा शान्तिपूर्ण तरिकाले राख्नु नागरिक स्वतन्त्रता हो । जसरी तीनकुनेमा निन्दनीय दुःखदायी घटना घट्यो त्यो अक्षम्य हो,’ उनले भने, ‘निष्पक्ष छानबिन र अनुसन्धान गरी दोषीलाई कानुनबमोजिम कारबाही हुनुपर्दछ । देशमा शान्ति र अमन चयन कायम गर्नु राज्यको कर्तव्य र दायित्व नै हो । फेरि यस्ता घटना नदोहोरिउन् भन्ने कुरामा सबै पक्ष जिम्मेवारीपूर्वक सचेत हुनै पर्दछ ।’
नयाँ वर्ष २०८२ को अवसरमा उनले राज्यको उन्नति र जनताको समृद्धिमा प्रतिबद्ध भई एकजुट हुन सफल होऔं भन्ने कामना पनि गरेका छन् । ‘सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा नयाँ वर्षले उत्साह, उमङ्ग ल्याओस् । सबैको घर आँगनमा शान्ति, सुख, समृद्धि छाओस् भन्ने शुभकामना व्यक्त गर्दछु,’ रेग्मीले शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।